उपसभामुख अडिग : राजीनामा दिन आफ्नो दोष प्रष्ट हुनुपर्ने र नयाँ सभामुखको नाम खुलस्त हुनुपर्ने शर्त


२७ पुष २०७६, आईतवार
Shivamaya Tumbahangphe

काठमाडौं, २७ पुस । राजीनामा गराउन नेकपा सचिवालयले गरेको निर्णयलाई उपसभामुख शिवमाया तुम्बाहाङ्फेले चुनौती दिएकी छिन् । राजीनामा दिन आफ्नो दोष प्रष्ट हुनुपर्ने र नयाँ सभामुखको नाम खुलस्त हुनुपर्ने उनको शर्त छ ।

शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको थियो । बिहान १० बजे बालुवाटारमै बैठक डाकिएको थियो । तर, प्रधानमन्त्री ओली डायलइसिस गरेर आएकाले बैठकमा सहभागी हुन सकेनन् ।

बैठक शुरु हुनुअघि उनले महासचिव विष्णु पौडेलमार्फत बैठक चलाउन अर्का अध्यक्ष प्रचण्डलाई सन्देश पठाएका थिए । त्यसपछि प्रचण्ड आफै गएर ओलीसँग परामर्श गरेका थिए । ‘छलफलको विषयवस्तु पहिला नै तय भएअनुसार निर्णय गर्नुस्, म सहभागी छु भन्ने हिसाबले निर्णय गर्नुस्, मेरो समर्थन छ,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले बैठकमा सुनाएका थिए ।

उपसभामुखले राजीनामा नदिँदा सभामुख चयनको प्रक्रिया अगाडि बढाउन राजनीतिक जटिलता भएको विषयमा नेकपा सचिवालयमा छलफल भएको थियो । किनकि, संविधानले सभामुख र उपसभामुख फरक–फरक दलका हुने सुनिश्चित गरेको छ । उपसभामुख नेकपाकै रहेर सभामुखमा पनि नेकपाले उम्मेदवारी दिन पाउँदैन ।

त्यहीबीचमा निर्वाचन प्रक्रिया सुरु भएमा नेकपाले सभामुख पद गुमाउँछ । यही विषयमा सचिवालय बैठकमा छलफल भएको थियो । स्रोतका अनुसार सभामुख नै पार्टीको हातबाट गुम्नसक्ने अवस्था भएको भन्दै प्रधानमन्त्री ओली पनि उपसभामुखको राजीनामाका लागि तयार भएका हुन् ।

सचिवालयको शनिबारको बैठकले उपसभामुखलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरे पनि नयाँ सभामुखको विषयमा छलफल गरेन । तर, उपसभामुखले भने आफ्नो गल्ती के हो भनेर प्रस्ट पार्न पार्टीलाई चुनौती दिएकी छिन् ।

‘के मैले भ्रष्टाचार गरेकी छु ? बदमासी गरेकी छु ? यौन दुराचार गरेकी छु ? पार्टीले त्यो पुष्टि गर्नुपर्छ । त्यसरी पत्राचार गरेको रहेनछ भने मैले किन राजीनामा दिने ? मैले के बदमासी गरेकी छु ? अर्कोले फट्याइँ गर्छ, अनि म भागीदार बन्ने ?’ उनले भनिन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सभामुखमा उम्मेदवारी दिने प्रयोजनका लागि पार्टीबाट उपसभामुख बनेकी तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने बैठकले निर्णय गरेको बताए । त्यसबारे औपचारिक रूपमै उनलाई जानकारी दिइने श्रेष्ठले बताए ।

‘नेकपाबाट सभामुखमा उम्मेद्वारी दिने प्रयोजनका लागि पार्टीका तर्फबाट उपसभामुख रहनुभएकी शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने बैठकले निर्णय गरेको छ,’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘यसबारे उहाँलाई अध्यक्ष वा महासचिवले औपचारिक रूपमा जानकारी गराउनु हुनेछ ।’

डा.तुम्बाहाङ्फेले राजीनामा दिने विषयमा आफू सकारात्मक रहेको श्रेष्ठको भनाइ छ । ‘उहाँ लामो समयदेखि हाम्रो पार्टी र कम्युनिस्ट आन्दोलनमा क्रियाशील हुनुहुन्छ । संवैधानिक व्यवस्थाअनुसार, हाम्रो पार्टीको सभामुख निर्वा्चित गराउन उहाँले राजीनामा दिनुपर्ने कुरालाई राम्रोसँग बुझ्नुहुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘उहाँ हाम्रै पार्टीबाट निर्वाचित सांसद र उपसभामुख हुनुभएकाले विवेक प्रयोग गर्नुहुन्छ भन्नेमा ढुक्क छौँ । त्यसैले यसभन्दा बढी टिप्पणी गर्नु आवश्यक छैन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७