अपराधीको खास स्थान पत्ता लगाउन अत्याधुनिक डिभाइस जडान गरिंदै, कसरी गर्छ काम ?


२७ पुष २०७६, आईतवार
device1

काठमाडौं, २७ पुस । नेपाल प्रहरीले अत्याधुनिक सिम लोकेटर अभ्यासमा ल्याउने भएको छ । आगामी वैशाखभित्रै अत्याधुनिक प्रविधि (डिभाइस) जडान गर्ने प्रहरीको तयारी छ ।

मोबाइल फोनको सिम (सब्स्क्राइबर आइडेन्टिटी मोडुल) कार्डमार्फत अपराधीको खास स्थान पत्ता लगाउन सहयोग पुग्ने प्रहरीको भनाइ छ । सो डिभाइस नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग रहनेछ ।

आगामी वैशाखभित्रै जडान गरिसक्ने गरी सिआईबीले डिभाइस जडानका लागि खुल्ला बोलपत्र आह्वान समेत गरिसकेको छ । स्पेसिफिकेसन अनुसार टेन्डर हाल्न केही कम्पनी सहभागी भइसकेको प्रहरीले जानकारी दिएको छ ।

जडान गरिने डिभाइसले अपराधीको लोकेसन मात्र नभई, उनीहरूको मुभमेन्ट, स्पिड, समय र दिशा समेत पत्ता लगाउन सक्नेछ । साथै, मोबाइल सञ्चालनमा नआउँदा पनि सिमका आधारमा यो डिभाइसले वास्तविक स्थान ट्र्याक गर्न सक्नेछ । यसका लागि फोनमा कल हुनैपर्छ भन्ने छैन । सोहीअनुसार योजना बनाएर प्रहरीले अपराधीलाई पक्राउ गर्न सक्नेछ ।

गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा सहज
नेपाल प्रहरीका प्रवक्ता डिआईजी शैलेश थापाले गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा सहजता ल्याउन सिआइबीले डिभाइस जडान गर्न लागिएको बताए । ‘सिआइबीमा सिम लोकेटर जडान गर्न लागिएको हो । यसले गम्भीर अपराधमा संलग्न अभियुक्तको खास स्थान ट्रयाक गर्न सहज हुन्छ । विभिन्न देशका प्रहरीले पनि यो प्रविधि प्रयोग गरिरहेका छन्, यो हाम्रा लागि नयाँ हो,’ उनले भने ।

प्रहरीसँग अहिले भएको ‘मोबाइल लोकेटर’ले अनुसन्धान गरिरहेको अभियुक्त कहाँ छ भनी ऊ रहेको क्षेत्र मात्रै पत्ता लगाउन सक्छ । तर, वास्तविक ठाउँ पत्ता लगाउन सक्दैन । न अभियुक्तको मुभमेन्ट, स्पिड, समय र दिशा नै पत्ता लगाउन सक्छ । जडान गरिन लागेको डिभाइसले अपराध अनुसन्धानलाई सहज बनाउने डिआइजी थापाले बताए ।

‘प्रहरीसँग अहिले पनि ट्रयाकिङ गर्ने सिस्टम नभएको होइन । तर, यसले अभियुक्तको लोकेसन पिनआउट गर्न सक्दैन, मात्रै एरिया पिनआउट गर्छ । सोही आधारमा अभियुक्त समात्ने हो । तर, अब जडान गर्न लागिएको डिभाइसले एक्ज्याक्ट लोकेसन नै पिनआउट गर्छ । यसबाट अपराध अनुसन्धानमा सघाउ पुग्नेछ,’ उनले भने । प्रहरीका अनुसार प्रयोगमा ल्याउन लागिएको सिम लोकेटर डिभाइसले मुलुकभरका सम्पूर्ण सिमकार्डलाई समेट्नेछ ।

कसरी काम गर्छ सिम लोकेटरले ?
जडान हुने आधुनिक डिभाइस जिएनएसएस (ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टेम)मा जोडिनेछ । यसले एकैपटक २४ भन्दा धेरै स्याट्लाइटसँग कम्युनिकेसन गर्न सक्नेछ । जसको सीधै सम्बन्ध जमिनमा भएको स्टेसनसँग हुनेछ ।

जसमार्फत अनुसन्धानमा लिइएको अपराधीबारे सूचना सिग्नलमार्फत आदान–प्रदान गरिनेछ । सोही कम्युनिकेसनमार्फत अपराधीको लोकेसन, स्पिड, समय र दिशा पत्ता लगाइनेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७