बिहेपछि अभिनय छाडेकी हिरोइन


२ भाद्र २०७४, शुक्रबार
twinkle khanna

बलिउडका थुप्रै अभिनेत्रीले बिहेपछि फिल्मी करिअर त्यागेका छन् । कतिपयले भने अभिनयमा पुनरागमन गरेको पनि देखिन्छ भने कतिलाई भने पतिले नै फिल्ममा फर्किन नदिएको पाइन्छ । करिश्मा कपुर, माधुरी दीक्षितलगायतका केही चर्चित अभिनेत्रीले ‘रि–इन्ट्री’ गरे पनि कुनै धमाल मच्चाउन सकेका छैनन् । भारतीय अनलाइनले केही ती अभिनेत्रीको चर्चा गरेको छ, जसले बिहेपछि फिल्म लाइन चटक्कै छाडे । उक्त सूचीमा अभिनेता मनोज बाजपेयीकी पत्नी नेहादेखि लिएर आसिन, नम्रता सिरोडकर, ट्विंकल खन्ना, संगीता बिजलानीसम्म छन् ।

twinkle khanna

असिन
आमिर खानसँग ‘गजनी’ फिल्ममा अभिनय गरेर चर्चा कमाएकी अभिनेत्री असिनले पनि बिहेपछि फिल्म अभिनय बन्द गरिन् । सन् २०१६ मा व्यापारी राहुल शर्मासँग बिहे गरेकी असिन हाल ३१ वर्षकी भइन् । गजनी हिट भएपछि उनले थुप्रै फिल्ममा अभिनय गरिन् । उनले गजनीका साथै ‘लन्डन ड्रिम्स’, ‘हाउसफुल–२’, ‘बोल बच्चन’, ‘खिलाडी ७८६’, ‘अल इज वेल’लगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनले बिहे गरेउप्रान्त फिल्म नखेल्ने घोषणै गरेकी थिइन् ।

नेहा बाजपेयी
अभिनेता मनोज बाजपेयकी पत्नी नेहालाई बलिउडमा सवाना रजाका नामले पनि चिनिन्छ । उनले सन् १९९८ मा बनेको ‘करिब’ फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी थिइन् । सो फिल्ममा नेहा बबी देओलकी प्रेमिकाको भूमिकामा थिइन् । सन् २००६ मा मनोजसँग बिहे गरेपछि नेहाले फिल्म अभिनयबाट सन्यास नै लिइन् । उनले ‘होगी प्यारकी जित’, ‘फिजा’, ‘एहसास–द फिलिङ्स’, ‘राहुल’, ‘मुस्कान’, ‘करम’, ‘कोही मेरे दिल मे है’, ‘एसिड फ्याक्ट्री’लगायतका फिल्ममा अभिनय गरेकी थिइन् । नेहा र मनोजकी एक छोरी छिन् । ४२ वर्षीया नेहा सञ्जय दत्तको बायोपिक फिल्ममा सानो भूमिकामा देखापर्न लागेको खबर पनि आएको छ ।

गायत्री जोशी
गायत्री विभिन्न टेलिसिरियलकी चर्चित अभिनेत्री हुन् । शाहरुख खानसँग ‘स्वेदश’ फिल्ममा अभिनय गरेकी गायत्रीले पनि बिहेपछि फिल्मी करिअर समाप्त गरेकी हुन् । व्यापारी विकास ओबरायसँग सन् २००५ मा बिहे गरेपछि अभिनय जीवन त्यागेकी गायत्री अहिले ४३ वर्षकी भइन् । उनी अचेल दुई बच्चाको स्याहारसुसारमा व्यस्त छिन् ।

ट्विंकल खन्ना
अक्षयकुमारकी पत्नी ट्विंकल खन्ना पनि एक समयकी निकै व्यस्त हिरोइन हुन् । सुपरस्टार राजेश खन्नाकी छोरी ट्विंकलले पनि बिहेपछि फिल्म अभिनय बन्द गरेकी हुन् । सन् १९९५ मा बनेको ‘वर्षात्’ फिल्मबाट करिअर सुरु गरेकी ट्विंकल र अक्षयको सन् २००१ मा बिहे भएको हो । उनले वर्षात्पछि ‘जान’, ‘जब प्यार किसिसे होता है’, ‘मेला’, ‘जोरका गुलाम’, ‘जोडी नम्बर १’, ‘लभके लिए कुछ भी करेगा’लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । हाल ४३ वर्षीया ट्विंकलले बिहेपछि फिल्म अभिनय छाडेर घरपरिवार सम्हालेकी हुन् ।
नम्रता सिरोडकर
पूर्वमिस इन्डिया नम्रता सिरोडकरले पनि बिहेपछि फिल्मी करिअर त्यागिन् । ‘वास्तव’, ‘पुकार’, ‘ब्राइड एन्ड प्रिज्युडिस’लगायतका फिल्ममा अभिनय गरेकी नम्रताले साउथ इन्डियन हिरो महेश बाबुसँग सन् २००५ मा बिहे गरिन् । ४५ वर्षीया नम्रता अचेल दुई बच्चाको रेखदेखमा व्यस्त छिन् । उनी पुनः फिल्म अभिनयमा आउन चाहन्नन् ।
संगीता बिजलानी
९० को दशकमा आफ्नो सुन्दरता र अभिनय कलाका कारण संगीताले बलिउडमा आफ्नो स्थान बनाएकी थिइन् । २० वर्षको उमेरमै मिस इन्डियाको उपाधि जितेकी संगीताले सन् १९८८ मा ‘कातिल’ फिल्मबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘हतियार’, ‘बटवारा’, ‘त्रिदेव’, ‘जुर्म’, ‘इज्जत’, ‘युगान्धर’, ‘योद्धा’, ‘खुनका कर्ज’लगायतका फिल्ममा अभिनय गरिन् । सन् १९९६ मा भारतीय क्रिक्रेट टिमका पूर्वकप्तान मोहम्मद अजहरुद्धिनसँग बिहे गरेकी संगीताले त्यसपछि फिल्म अभिनयबाट बिदा लिइन् । सन् २०१० मा संगीता र मोहम्मदको सम्बन्धविच्छेद भयो । तर, पनि संगीता फिल्ममा पुनः देखिएकी छैनन् । हाल ५६ वर्षीया संगीता र सलमान खानको अफेयरले एकताका निकै चर्चा पाएको थियो ।
अमृता अरोडा
अमृता अरोडा पनि एक समयकी चर्चित अभिनेत्री हुन् । सन् २००२ मा ‘कितने दुर कितने पास’नामक फिल्मबाट हिरोइन बनेकी उनले त्यसपछि ‘कमबक्त इस्क’, ‘गर्लफ्रेन्ड’, ‘फाइट क्लब’लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । सन् २००९ मा सकिल लडकसँग बिहे गरेपछि भने उनले फिल्म अभिनय चुटुक्कै छाडिन् । दुई बच्चाकी माता ३६ वर्षीया अमृता फिल्मी पार्टीमा भने देखापर्ने गर्छिन् । तर, अब फेरि फिल्म अभिनयमा फर्किने सोच भने छैन उनको ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७