माछापुच्छ्रे बैंकको किसान कार्ड ,किसानहरूले ४ लाख सम्मको कृषि कर्जा पाउने

काठमाडौं, २७ पुस । माछापुच्छ्रे बैंकले साना किसानहरूको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम र हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको उक्त किसान कार्डअन्र्तगत किसानहरूले ४ लाख रुपैयाँसम्मको कृषि कर्जा किसान कार्डमार्फत प्राप्त गर्नेछन्।
पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसँग आबद्घ बाँके जिल्लाको खजुरा गाउँपालिकाको साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरूलाई उक्त कार्ड प्रदान गरी सेवाको सुरुआत गरिएको छ। सो कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रकृया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ। उक्त किसान कार्डबाट कृषकहरूले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्नो कार्डमा उपलब्ध सीमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन्।
बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरूलाई व्यवसायमा सहयोेग गरी आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १४४ वटा शाखाहरू लगायत १३८ शाखारहित बैकिङ्ग सेवा गरी जम्मा २८२ स्थान र देशभर १७२ वटा एटीएम बुथ मार्फत सेवा प्रदान गरिरहेको छ।