कर्णाली र सुदूरपश्चिमका नौ जिल्लामा भत्काइयो २६ सय १० छाउगोठ
छाउगोठ नभत्काए सरकारको त्रास, भत्काए देउता रिसाउने हुन् कि भन्ने डर

कर्णाली, २८ पुस । महिनावारी हुँदा छाउगोठमा राख्ने चलन अन्त्य गर्न भन्दै कर्णाली र सुदूरपश्चिमका जिल्लामा प्रहरीले छाउगोठ भत्काउने अभियान चलाइरहेको छ ।
कर्णाली र सुदूरपश्चिमका नौ जिल्लामा प्रहरीले यस वर्ष दुई हजार दुई सय ५४ छाउगोठ भत्काएको छ । सुदूरपश्चिममा एक हजार नौ सय सात र कर्णालीमा सात सय तीन छाउगोठ भत्काइएको हो ।
सबैभन्दा धेरै अछाममा एक हजार ६ सय छाउगोठ भत्काइएको नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षत्रीले बताए ।
प्रहरी तथ्यांकअनुसार कालिकोटमा १७, जाजरकोटमा नौ, सुर्खेतमा पाँच सय ६६, दैलेखमा एक सय १२ वटा भत्काइएका छन् । त्यस्तै, कैलालीमा एक सय १५, बझाङमा ६५, बाजुरामा एक सय ६८ र कञ्चनपुरमा चार छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ । प्रहरीले भनियान नै बनाएर भत्काएका छाउ गोठ फेरि बन्न थालेका छन् ।
सरकारले छाउगोठ नभत्काए स्थानीय सरकारले दिने सेवा सुविधामा बन्देज लगाउने निर्णय नै गरेका छन् । अहिले यी जिल्लाका महिला सरकारको निर्देशन नमार्ने सुविधा नपाइने र छाउगोठमा नबसे देउता रिसाउने हुन् कि भन्ने त्रासमा छन् ।
प्रहरीले छाउगोठको विकृतिविरुद्ध विशेष कार्यक्रम नै ल्याउने तयारी गरिरहेको छ । आगामी महिना सो कार्यक्रम सार्वजनिक गर्न लागेको छ । गृह मन्त्रालयले गत साता नै यससम्बन्धी निर्देशन प्रहरीलाई दिइसकेको छ ।
त्यसो त छाउगोठमा बस्दा महिलाले सामाजिक अत्याचार मात्र होइन, प्राकृतिक विपत्ति पनि भोग्दै आएका छन् । ०७२ यता छाउगोठसम्बन्धी मुद्दा भने नौवटा मात्रै दर्ता भएका छन् । दुई बलात्कार, एक बलात्कार प्रयास र तीन सुतिरहेकै अवस्थामा मृत्यु (भवितव्य) भएको घटना प्रहरीमा दर्ता भएको छ । अन्य सर्पले टोकेर तथा आगो लागेर मृत्यु भएका घटना छन् ।