सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना


२८ पुष २०७६, सोमबार
pattar

सुर्खेत, २८ पुस । सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सङ्घीय सरकारले कर्णालीमा रहेका मूल्यवान तथा अर्धमूल्यवान पत्थरको उत्खनन, प्रशोधन गर्नुका साथै निर्यातसम्बन्धी नीतिगत जटिलता हटाएर केन्द्र स्थापना गर्ने तयारी गरेको हो ।

सुर्खेतमा २०६५ सालदेखि साविकको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा सानो परिमाणमा रत्न पत्थर प्रशोधन विकास केन्द्र सञ्चालनमा आएको थियो । प्रदेश सरकारका उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक शम्भुप्रसाद पौडेलले कर्णालीमा पाइने बहुमूल्य धातुको पहिचान गरी सानो परिमाणमा प्रशोधनको काम भने यहाँबाटै भइरहेको बताए ।

उनका अनुसार अब स्थापना हुने प्रशोधन केन्द्रबाट ठूलो परिमाणमा केन्द्रमा मूल्यवान तथा अर्धमूल्यवान धातु रत्न, पत्थर कटिङ तथा पोलिसिङको काम हुनेछ । यसका लागि साविकको घरेलु तथा साना उद्योग विकास समितिले रत्न पत्थर कटिङ, पोलिसिङ तथा ड्रिलिङसम्बन्धी युवालाई तालीम दिइसकेको छ ।

काइनाइट, टुर्मा्लिन, क्वार्ज, एक्वामेरिन, गार्नेट, डेब्युराइट, हेम्बराइट नेपालमा पाइने धातु हुन् । निर्देशक पौडेलले कर्णाली प्रदेश रत्न पत्थरका लागि उत्कृष्ट क्षेत्र रहेको बताए । ‘सरकारले सम्भावित ठाउँको अन्वेषण गरी उत्खननको योजना बनाएको छ, सुर्खेतमा प्रशोधन केन्द्र स्थापना भएपछि यसको बृहत् उत्पादन र बजारीकरण हुनेछ’, उनले भने, ‘कर्णालीमा पाइने काइनाइट, टुर्मालिन जस्ता मूल्यवान पत्थरको व्यवस्थित उत्खनन नहुँदा राजश्व सङ्कलन हुन सकेको छैन ।’

यस्ता पत्थर सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट जिल्लामा पाइन्छन् । सरकारले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७