अब खुल्ला मञ्चमा पार्किङ गर्न नपाइने

काठमाडौं, २८ पुस । सर्वसाधरणदेखि कर्मचारीसम्मको निःशुल्क पार्किङको थलो भनेको काठमाडौंको खुल्ला मञ्चमा अब पार्किङ गर्न नपाइने भएको छ ।
काठमाडौं महानगरपालिकाले आउँदो माघ १ गते (बुधबार) देखि खुला मञ्चमा पार्किङ निषेध गर्ने जानकारी दिएको छ । महानगरपालिकाले गत शनिबार भएको अकुपाईं टुँडिखेल कार्यक्रमका अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी पार्किङ निषेध क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
खुलामञ्चमा पार्किङ गरेर अस्तव् यस्त भएको र खुला स्थान नभएको भन्दै अकुपाईं टुँडिखेलका अभियान्ताहरूले त्यहाँ पार्किङ गर्न नदिन महानगरपालिकालाई पटक–पटक पत्राचार गर्दै ध्यानाकर्षण गराउँदै आएका थिए ।
अभियान्ताको पटक–पटकको दवावपछि काठमाडौं महानगरपालिका–२८ ले जारी गरेको सूचनामा भनिएको छ, ‘आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सम्पूर्णमा सूचित गर्न चाहन्छौं ।’
’वीर अस्पतालको, हाइस्कुल, सर्वसाधारणले पनि त्यही राख्ने गरेका थिए,’ वडा २८ का वडाध्यक्ष भाइराम खड्गीले सुनाए, ’बालबच्चाहरूका लागि खेल्ने स्थान नभएपछि त्यहाँ खुला गरिदिए वातावरण बन्ने हिसाबले पार्किङ निषेध गरेका हौं ।’ खुलामञ्चको सट्टा वैकल्पिक पार्किङको लागि भने हाललाई निर्णय नएको उनले जानकारी दिएका छन् । यस विषयमा चाँडै नै बैठक बसेर छलफल गरिने उनले बताए ।