ह्यारी दम्पतिको राजपरिवारको जिम्मेवारी त्याग्ने निर्णयले राजपरिवारमा ‘खैलाबैला’


२८ पुष २०७६, सोमबार
harry

बेलायत, २८ पुस । बेलायती राजकुमार ह्यारी दम्पतिको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ ।

महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारी समेतका बीचमा छलफल भएको राजपरिवार श्रोतले जनाएको छ । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो ।

बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेका थिए । ह्यारीका पिता तथा युवराज चाल्स र उहाँका भाई विलियमलगायतले पनि ह्यारी दम्पतिलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

ओमनका सुल्तान काबोसलाई श्रद्धाञ्जली दिन ओमन पुगेका युवराज चाल्स उताबाट फर्किएर बैठकमा सहभागी भएका थिए । मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो । उनलाई क्यानाडाबाटै बैठकमा सहभागीताका लागि आउन आग्रह गरिएको थियो । व्यक्तिगत जीवनका लागि उनीहरुले फेरि ‘अर्को कदम’ चाल्न सक्ने आशंका गरिएको छ ।

महारानीले समाधान खोज्दै गर्दा ह्यारी पत्नी मेगन भने केही दिन अगाडि नै क्यानडा जानु भएको थियो । ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानाडा गएर फर्किएपछि अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले त्यस्तो घोषणा गरेका थिए ।

ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ । दरवार श्रोतका अनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गरेका थिएनन् । राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारी दम्पतिको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्श पछि सोमवारको छलफल भएको हो । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७