‘समितिको निर्देशन सरकार किन टेर्दैन ?’


२८ पुष २०७६, सोमबार
digo

काठमाडौं, २८ पुस । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले समितिले पटक पटक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

समितिको आजको बैठकमा अधिकांश सांसदले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासलगायत मन्त्रालयलाई विभिन्न विषयमा निर्देशन दिए पनि कार्यान्वयन नगरी समितिको अपहेलना गरेको भन्दै अहिलेसम्मका निर्देशन कार्यान्वयन भए–नभएकाबारे समितिले नै अनुगमन गर्नुपर्नेमा जोड दिए ।

समितिका सदस्य दीनानाथ शर्माले अहिलेसम्म समितिले दिएको निर्देशन कार्यान्वयन भए–नभएका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्री वा सचिवलाई बैठकमा आमन्त्रण गरी जवाफ माग्नुपर्ने बताए । सदस्य विमला पौडेलले निर्देशन कार्यान्वयन सम्बन्धमा अनुगमन गर्दै बजार अनुगमनलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।

सदस्य कालीबहादुर मल्ल र खिमकुमार विकले बजार अनुगमनसँगै छड्के अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । सदस्य कमलाकुमारी ओलीले पछिल्लो समयमा यातायात क्षेत्रमा समस्या बढ्दै गएकाले समाधानका लागि अनुगमनपछि मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताइन् ।

सदस्य महेशकुमार महरा, भैरवसुन्दर श्रेष्ठ, मुक्ताकुमारी यादव, कविता बोगटीलगायतले सरकारले राष्ट्रियसभा अन्तर्गतको दिगो विकास समितिको निर्देशन किन मान्दैन भनी प्रश्न गरे । सभापति तारादेवी भट्टले समितिले दिएका निर्देशन कार्यान्वयन भए–नभएको बारे सम्बन्धित मन्त्रालयसँग जवाफ मागिने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७