मोबाइल कलको शुल्क घट्ने, अन्तरआबद्धता शुल्क १० पैसा मात्र


२९ पुष २०७६, मंगलवार
mobile 1
फाइल फोटो

काठमाडौं, २९ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो ।

अन्तरआबद्धता निर्देशिकाअनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ । अहिले सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संशोधित नयाँ निर्देशिकाले उपभोक्तालाई सिधै फाइदा पुग्ने गरी ल्याइएको छ ।

अन्तर आबद्धता शुल्क भनेको एक सेवा प्रदायकको नेटवर्कबाट अर्कोमा उपभोक्ताले फोन गरे सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई निश्चित शुल्क तिर्नुपर्ने शुल्क हो । प्राधिकरणले निर्देशिकामार्फत प्रतिमिनेट १० पैसा शुल्क तोके पनि सेवा प्रदायकले समझदारी गरेर सोभन्दा कम शुल्क पनि तय गर्न सक्ने प्रावधान छ ।

अहिले एनसेलका ग्राहकले एनसेलमा र नेपाल टेलिकममा कल गर्दा खासै फरक पर्दैन । तर, नेपाल टेलिकमको नम्बरबाट टेलिकमकै नम्बरमा फोन गर्दा कम शुल्क लाग्छ भने टेलिकमको नम्बरबाट एनसेलको नम्बरमा कल गर्दा बढी शुल्क लाग्छ । नयाँ निर्देशिका लागू भएपछि सिधै असर एनसेललाई नपर्ने र टेलिकमलाई पर्नेछ । टेलिकमबाट एनसेलमा कल गर्दा अब कम्तीमा प्रतिमिनेट ४४ पैसा सस्तो हुनेछ ।

२०६५ सालमा जारी गरेको निर्देशिकामा विकास क्षेत्रअनुसार अन्तरआबद्धता शुल्क फरक–फरक थियो भने अहिले जारी गरेको निर्देशिकाले देशभरिलाई एउटै क्षेत्र मानेर शुल्क निर्धारण गरेको छ ।
निर्देशिकाअनुसार एउटा सेवा प्रदायकको फिक्स्ड लाइनका ग्राहकले अर्को अपरेटरको फिक्स्ड लाइन ग्राहकलाई कल गर्दा पहिलो सेवा प्रदायकले दोस्रो सेवा प्रदायकलाई बढीमा प्रतिमिनेट २० पैसा मात्रै तिर्नुपर्छ ।

अहिले नेपाल टेलिकम बाहेक अन्य सेवा प्रदायकको फिक्सड लाइन छैन ।
फिक्स्ड लाइनबाट मोबाइलमा गर्दा आन्तर आबद्धता शुल्क १० पैसा हुनेछ । यसैगरी, मोबाइलबाट फिक्स्डमा कल गर्दा अन्तरआबद्धता शुल्क प्रतिमिनेट २० पैसा हुनेछ । मोबाइलबाट मोबाइलमा गर्दा पनि अन्तरआबद्धता शुल्क १० पैसा कायम गरिएको छ ।

एसएमएस सेवामा पनि प्रतिएसएमएस १० पैसा अन्तरआबद्धता शुल्क तोकिएको छ । सेवा प्रदायकले आफ्नो नेटवर्कमा मात्र फोन लाग्ने र अन्य सेवा प्रदायकमा फोन नलाग्ने गरेको गुनासोलाई पनि निर्देशिकाले सम्बोधन गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७