‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै इच्छाकामना गाउँपालिका


२९ पुष २०७६, मंगलवार
28 Shares
ichakamana

मुग्लिन, २९ पुस । सङ्घीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ ।

सोमबार दिउँसो २ बज्न लागेको थियो । बैठक कक्षमा राष्ट्रिय धुन बज्दा सबै आ आफ्नो आसनबाट उठे । यसपछि बैठक प्रारम्भ भयो । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीताकुमारी गुरुङले संशोधित आर्थिक विधेयक २०७६ सभामा प्रस्तुत गर्न अनुमति दिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विधेयकलाई पालिका सदस्य बलराम त्रिपाठीले समर्थन जनाए । विधेयकमाथि केही सदस्यले आफ्नो धारणा तथा सुझाव राखे । अध्यक्ष गुरुङले विधेयकलाई निर्णयर्थ प्रस्तुत गर्दै विधेयक पक्षमा हुन्छ भन्नेले हुन्छ भन्नुहोस्, विधेयकको विपक्षमा हुन्न भन्नेले हुन्न भन्नुहोस् भने ।

सदस्यले हात उठाएर हुन्छ भने । सबैले हात उठाएर सहमति जनाएपछि गाउँ सभाध्यक्ष गुरुङले हुन्न भन्ने आवाज नआएकाले विधेयक सम्मानित सभाबाट पास भएको घोषणा गरे । सबै सदस्यले ताली बजाइ विधेयक पारित गरे ।

jagdamba.cement
rbbbb

यसैबीच अन्य विधेयक सम्बन्धित विषयका संयोजकबाट क्रमशः प्रस्तुत भयो । ती विधेयकलाई क्रमशः सोही प्रक्रियामा अघि बढाइयो । गाउँपालिकामा व्यवस्थापिका संसद्कै शैलीमा गाउँसभा बैठक आयोजना गरिएको पहिलो पटक भएको बताइन्छ ।

प्रस्तुत विधेयकको बारेमा छलफल गर्न चाहने सदस्यलाई तीन मिनेटको समय प्रदान गरिएको थियो । प्रस्तुत विधेयकमाथि सदस्यले उठाएको प्रश्नको जवाफ सम्बन्धित विषयका संयोजकले जवाफ दिएका थिए । कतिपय बोल्ने सदस्यले सभाध्यक्षलाई ‘सभामुख’ भनेर सम्बोधन समेत गरेका थिए ।

प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँसभामा सोमबार संशोधित आर्थिक विधेयक २०७६, सहकारी विधेयक, संशोधित विनियोजन विधेयक २०७६, भवन निर्माणसम्बन्धी विधेयक, स्वास्थ्य संस्था दर्ता सञ्चालन तथा नियमन विधेयक २०७६, न्यायिक समितिसम्बन्धी विधेयक २०७६ गरी छ वटा विधेयक प्रस्तुत भएका छन् । प्रस्तुत विधेयकको सोमबारदेखि नै दफाबार छलफल शुरु भएको छ ।

झण्डै तीन घण्टा बसेर गाउँसभाको बैठक सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष गुरुङले स्थगित गरे । उनले आगामी बैठक माघ २० गते बस्ने जानकारी दिए । गाउँसभामा गाउँसभा सदस्यबाहेक पत्रकार र कर्मचारीलाई मात्र प्रवेशको अनुमति थियो ।

चेपाङ जनप्रतिनिधिको सक्रिय सहभागिता
झण्डै तीन घण्टा चलेको उक्त गाउँसभामा चेपाङ जनप्रतिनिधिको सक्रियता प्रशंसनीय थियो । वडासदस्य तथा गाउँसभा सदस्य खिरबहादुर चेपाङले सबैभन्दा बढी विधेयकमा आफ्नो भनाइ राख्न हात उठाए ।

उनले तीन वटा विधेयकमा आफ्नो सुझाव र केही विमति राखे । यसैबीच अर्का सदस्य डम्मरकुमारी चेपाङले पनि छलफलमा आफ्नो भनाइ राखे । यसअघिको गाउँसभामा खासै सक्रियता नदेखाएका सदस्यले यस पटकको गाउँसभामा भने खुलेरै आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७