नक्कली भ्याट बिल प्रकरण : १२ करोड बिगो माग गर्दै ६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २९ पुस । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिलबाट कर छली गरेको अभियोगमा १२ करोड बिगो माग गर्दै छ जनाविरुद्ध मुद्धा दायर गरिएको छ ।
विभागले काठमाडौं–१६ को हाइवे लिंक प्रालि तथा रोज इन्टरप्राइजेजका सञ्चालक फिरोज मास्केसहित छ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
नक्कली भ्याट बिल प्रकरणमा मास्के, जनार्दन भण्डारी, भाइराजा श्रेष्ठ, देवराज अधिकारी, अभिषेककुमार आचार्य र सूर्चन श्रेष्ठविरूद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूलाई १२ करोड ६५ लाख बिगो, बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद माग्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका अनुसार उनीहरूले मालवस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र खरिद गरेर राजश्व नतिर्ने जालसाजी गरेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले लाभांश करतर्फ ७५ लाख ९७ हजार २०५, आयकर सात करोड ७१ लाख २ हजार ३२ र र मूल्य अभिवृद्धि कर चार करोड १० लाख ३९ हजार ३१३ छलेको विभागको दाबी छ ।