डा. तुम्बाहाम्फेलाई सभामुख बनाउन मोरङका १० उपप्रमुखको नेकपालाई आग्रह


२९ पुष २०७६, मंगलवार
morang

–अर्जुन कुलुङ राई
विराटनगर, २९ पुस । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुखको जिम्मेवारी दिन माग गर्दै मोरङका १० उपप्रमुखहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ जिल्ला कमिटीलाई आग्रह पत्र बुझाएका छन् । जिल्ला कमिटीको कार्यालय पाञ्चली विराटनगर पुगेर सात नगरपालिका र तीन गाउँपालिकाका उपप्रमुखहरूले सोमबार यस्तो आग्रह पत्र बुझाएका हुन् ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गरिन भएको ढिलासुस्ती र सञ्चार माध्यममा आएको चर्चाले आफूहरुको ध्यानाकर्षण गराएको पत्रमा उल्लेख छ । पत्रमार्फत नै उपप्रमुखहरूले तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्ने विषयमा किन निर्णय हुन नसकेको हो भन्ने प्रश्न पनि गरेका छन् ।

mm

‘सामाजिक रुपमा पछाडि परिरहेका महिलाहरुको नेतृत्व गरिरहेकी डा. तुम्वाहाम्फे सिङ्गो महिला समुदायका लागि प्रेरणाको स्रोत भएको समेत पत्रमा उल्लेख गरिएको छ ।

उपसभामुखपछिको जिम्मेवारी स्वतः रुपमा सभामुखको हुने भएकाले योग्यता–क्षमता र आवश्यकताका आधारमा सभामुखको जिम्मेवारी डा. तुम्वाहाम्फेलाई प्रदान गर्ने कुरामा पार्टी नेतृत्व गम्भिर हुने कुरामा आफूहरु विश्वस्त रहेको पनि पत्रमा जनाइएको छ ।

पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, उर्लाबारीका लक्ष्मीदेवी भण्डारी, बेलबारीका ढाकाकुमारी पराजुली, लेटाङका कृष्णकुमारी पोखरेल निरौला, सुन्दरहरैचाका धनाकुमारी तामाङ, रतुवामाइका दमयन्ता चुडाल, केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बू (भुजेल), मिक्लाजुङकी सरला राई, कानेपोखरीका राजमती इङ्नाम र रंगेलीका केशवकुमारी खरेलको संयुक्त समूहले नेकपा मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेललाई पत्र बुझाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७