उपसभामुखले राजीनामा दिनुपर्छ : प्रवक्ता श्रेष्ठ


२९ पुष २०७६, मंगलवार
narayankaji shrestha 4

कास्की, २९ पुस । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । आज बेंसीशहरमा प्रेस सङ्गठन जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो । त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने अवस्था छ ।’

संविधानको मर्मअनुसार उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको हुन नसक्ने भएकाले उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेको उनले बताए । उनले भने, ‘उहाँले राजीनामा नदिंदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ ।’

फरक प्रसङ्गमा उनले भने, ‘नेपाल र भारतबीच अहिले पश्चिममा सीमा विवाद रहेको छ, त्यो लामो समयदेखिको विवाद नै हो । नेपालले आफ्नो राष्ट्रिय सार्वभौम भौगोलिक अखण्डताको पक्षमा अडान राख्दै आएको छ ।’ उनले वर्तमान सरकारले पहिलोेपटक लिम्पियाधुरासहित कालापानी र लिपुलेक पनि हाम्रो भू–भाग हो भनेर राज्य र सरकारका तर्फबाट आधिकारिक धारणा प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७