‘वान भर्सेज वान’ : ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै

यस्तो छ गोरु जुधाइ पर्वको इतिहास


१ माघ २०७६, बुधबार
bull fight 11

नुवाकोट, १ माघ । माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा पाँच हल गोरु आज जुधाउन लागिएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल गोरु जुधाउन लागिएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ । तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापन ‘माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ ले गरेको छ ।

संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीको अनुसार गोरु जुधाइको सबै तयारी पुरा भएको छ । चन्दनीमा २१ हल गोरु जुधाउन लागिएको हो । गोरु जुधाइ तथा विभिन्न सांस्कृतिक कार्यक्रममा यस पटक नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालालगायत सहभागी हुने कार्यक्रम छ ।

गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीको अनुसार तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सङ्क्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ ।

विसं २०६२ देखि स्थानीयवासीले हरेक वर्ष आलोपालो रुपमा समिति बनाएर माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थामार्फत व्यवस्थित रुपमा गोरु जुधाउन लागिएको हो । यसैगरी, गोसाइकुण्ड युवा क्लबको आयोजनमा बेत्रावतीमा ११ हल गोरु जुधाउन लागिएको छ ।

आयोजक क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलका अनुसार वेत्रावतीमा जुधाइने गोरु जात्राको मेला अवलोकन गर्न प्रतिनिधिसभाको उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलगायत सहभागी हुने कार्यक्रम छ ।

नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विंस १८४९ मा बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धि पश्चात् नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयको पहलमा जोरु जुधाइलाई निरन्तरता दिएको गोसाइकुण्डका क्लबका सल्लाहकार अष्टमान डङ्गोलले बताए । उनका अनुसार विसं २०६७ देखि गोसाइकुण्ड युवा क्लबको पहलमा गोरु जुधाइ जात्रालाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको हो ।

मकर सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तारुका, बेत्रावतीमा जुधाइने जात्राको अनुशरण गदैै जिल्लाको अन्य स्थानमा पनि गोरु जुधाइ प्रतिस्पर्धा पछिल्लो समयमा मौलाउँदै गएको छ ।

लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछापमा नेपाल मगर सङ्घको आयोजनमा तीन हल गोरु दर्ता भएको र आज पनि दर्ता भएका गोरुलाई प्रतिस्पर्धामा समावेश गरिने जात्रा व्यवस्थापन समितिका संयोजक एंव गाउँपालिकाको उपाध्यक्ष रोजिना राईले जानकारी दिनुभयो । गोरु जुधाइसहित विभिन्न सांस्कृतिक कार्यक्रम तथा मगर समुदायको प्रचलित घाटु नाँचलगायत प्रदर्शनी सञ्चालन गर्न लागिएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ स्थित पिपलडाँडामा मकर सङ्क्रान्ति पर्वको अवसरमा नवप्रतिभा युवा क्लबको आयोजनामा आठ हल गोरु जुधाउन लागिएको अध्यक्ष शिवहरी विष्टले जानकारी दिए । उनका अनुसार गोरु जुधाइको अवलोकलनको लागि पूर्वअर्थमन्त्री एंव काँग्रेस नेता डा. रामशरण महतलगायत सहभागिता रहने कार्यक्रम छ ।

यस्तै, शिवपुरी गाउँपालिका–५ गैरीफाँटमा यस वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाइ मेला चलाउन लागिएको आयोजक शेराबगर विकास समाजले जनाएको छ । संस्थाका अध्यक्ष अभियान आचार्यको अनुसार माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजना गरिएको गोरु जुधाइको लागि पाँच हल गोरु दर्ता भएको र आज पनि दर्ता भएका गोरुलाई प्रतिस्पर्धामा सहभागी गराउन लागिएको छ । गोरु जुधाइसहित स्थानीय तथा राष्ट्रियस्तरका कलाकारमार्फत विभिन्न सांस्कृतिक कार्यक्रम गर्न लागिएको छ ।

यसैगरी, तादी गाउँपालिका–४ सातविसेमा दश हल गोरु जुधाउन लागिएको छ । ‘माघे सङ्क्रान्ति गोरु जुधाइ तथा विविध सांस्कृतिक कार्यक्रम’ मूल समारोह समितिका अध्यक्ष हरिबहादुर तामाङको अनुसार जुधाउनको लागि १० हल गोरु दर्ता भएका छन् ।

nuwakota

यस्तै, नुवाकोटको तारुकासँगै जोडिएको धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा यस वर्ष सात हल गोरु जुधाउन दर्ता भएका छन् । आयोजक ‘चमेरे गुफा संरक्षण समाज’ का सचिव रोशन श्रेष्ठको अनुसार छैठौं गोरु जुधाइ मेला विभिन्न विभिन्न कलाकारमार्फत हाँस्य प्रस्तुति विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएको छ । फ्याक्सेमा जुधाइने गोरुको तीन समूहमा वर्गिकरण गरिएको संस्थाका अध्यक्ष प्रितम श्रेष्ठले जानकारी दिए ।

पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ को लामाचउरलगायत स्थानमा किसानले आफूले पालेको गोरु जुधाइ प्रदर्शनी गरेर मनोरञ्जन लिने परम्परलाई यो वर्ष पनि निरन्तरता दिन लागिरहेका छन् । ‘वान भर्सेज वान’ को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमा गरेर आयोजकले किसानलाई प्रतिस्पर्धामा ल्याउन उत्साहित बनाउँदै आएको छ ।

पछिल्लो समयमा गोरु पाल्ने किसानको संख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको संख्या वृद्धि हुँदै गएकाले यसलाई मनोरञ्जनको लागि मात्र नभई पर्यटन प्रवर्धन तथा स्थानीय संस्कृतिको रुपमा प्रचारमा जोड दिनुपर्ने जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ बताउँछन् ।

वर्षभरी खेती गर्न गोरु पाल्न छाडेका किसानले मकर सङ्क्रान्तिमा प्रतिस्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरुलाई जुधाउन सहभागी गराउँदै आएका किसानको लागि राज्यले अनुदान तथा सहयोगको विशेष कार्यक्रम चलाउनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७