युवतीसँग मिलेर हिनामिना गर्ने सहायक रथीमाथि कारबाही सुरु


२१ पुष २०७४, शुक्रबार
Nepali army

काठमाडौं :  सेनाले कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न रहेको आरोपमा बहालवाला सहायक रथी डा. रमेश विष्टमाथि ‘इन्क्वायरी’ थालेको छ । सेनाले उनलाई हिरासतमा लिएरै इन्क्वायरी थालेको हो ।

सैनिक स्रोतका अनुसार उनलाई नारायणहिटीस्थित उपत्यका पृतनामा राखेर इन्क्वायरी सुरु गरिएको छ । सैनिक प्रवक्ता गोकुल भण्डारीले सहायक रथी डा.विष्टमाथि इन्क्वायरी सुरु गरिएको बताए । उनले भने, ‘कृषि विकास बैंकको रकम हिनामिनामा सहायक रथी डा.विष्टको संलग्नता हुन सक्ने आधार फेला परेको छ ।

Nepali army

प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो । सोही आधारमा उहाँमाथि इन्क्वायरी थालिएको छ ।’ इन्क्वायरीपछि दोषी ठहर भए उनीमाथि कोर्ट मार्सनसम्मको कारबाही हुन सक्छ । सैनिक प्रवक्ता सहायक रथी भण्डारीले भने, ‘अहिले प्रारम्भिक चरणको छानबिन हुँदै छ । छानबिनबाट दोषी ठहर भए कानुनबमोजिम कारबाही हुन्छ । दोषी नदेखिए इन्क्वायरी फुकुवा हुनेछ । छानबिनपछि सत्य तथ्य बाहिर आउनेछ ।’

कृषि विकास बैंक न्युरोड शाखामा चार करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि शाखाकी सहायक ट्रेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी घटनाकी मुख्य योजनाकारका रूपमा सिआइबीले पक्राउ गरेको थियो । हिनामिना भएको रकम खोज्दै जाने क्रममा ट्रेलर रेग्मीले सेनाका सहायक रथी डा. विष्टबारे बताएकी थिइन् ।

त्यसपछि सिआइबीले डा. विष्टमाथि अनुसन्धान केन्द्रित गरेको थियो । अनुसन्धानका क्रममा हिनामिना गरिएको मध्ये करिब ३३ लाख रुपैयाँ डा. विष्टको बैंक खातामा भेटिएपछि सिआइबीले आवश्यक कारबाहीका लागि सेनालाई पत्र काटेको थियो । सोही क्रममा सेनाले डा। विष्टलाई हिरासतमा लिई इन्क्वायरी थालेको हो । डा. विष्ट प्राविधिकतर्फका सहायक रथी हुन् ।

प्रहरीका अनुसार सहायक रथी डा। विष्टलाई घटनाकी मुख्य योजनाकार रेग्मी ‘मामा’ भन्ने गर्छिन् । प्रहरी स्रोतले भन्यो, ‘डा. विष्ट र रेग्मीबीच कनेक्सन देखिएपछि प्रहरी अनुसन्धानमा जुट्यो । खोज्दै जाने क्रममा रेग्मीले डा.विष्टलाई ‘मामा’ भन्दिरहिछिन् । उनीहरूबीचको सम्बन्ध वास्तविक हो या कृतिम त्यससम्बन्धमा अनुसन्धान हुँदै छ ।’

प्रहरीले घटनामा संलग्न काठमाडौं–३२ का ४७ वर्षीय प्रेमहरि ढुंगेल, टोखा–८ का ५६ वर्षीय गोपाल गिरी, चन्द्रागिरि–५ का ३९ वर्षीय महेश्वर मरहठ्ठा, काठमाडौं–१६ का ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं–३२ का ४२ वर्षीय रमेशकुमार थापालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँडेका थिए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७