‘योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग’ (फोटो फिचर)


१ माघ २०७६, बुधबार
yog 1

काठमाडौं, १ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय योग मूल समारोह समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रममा उनले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताए ।

उनले आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएको बताए । उनले निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । आधुनिक चिकित्साले उपचार नभएको बेला प्राकृतिक चिकित्साअन्तर्गत योग गरेर नै हाम्रा पुर्खाले उपचार गरेको उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकार रोग लाग्न नदिने अभियानमा रहेको बताए । उनले योग, ध्यान जस्ता प्राकृतिक उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा समेट्ने बताए ।

उनले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने बताए । उनले योगलाई सप्ताहरूपमा नभएर वर्षभित्र अभियानका रुपमा सञ्चालन गर्ने तयारी समेत भएको बताए ।

कार्यक्रममा पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नुपर्ने बताए । स्वामी आनन्द अरुण गौतम बुद्ध जन्मेको दिनलाई योग दिवस मनाउनुपर्ने बताए । ब्रह्मकुमारी कुसुमले योगले जीवनलाई सुखी बनाउने बताइन् । आर्ट अफ लिभिङका अच्युत गौतमले योगलाई माध्यमिक तहसम्मको शिक्षामा समावेश गर्नुपर्ने बताए ।

सोही अवसरमा योग क्रियाकलाप कसरी गर्ने भन्नेबारेमा मन्त्रालयद्वारा गठित राष्ट्रिय योग अभ्यासक्रमका संयोजक सोनाम साथीले मन्त्री पोखरेललाई योगाभ्यास पुस्तिका हस्तान्तरण गरेका थिए । पुस्तिकामा योगाभ्यासका चरणहरु उल्लेख गरिएका छन् ।

यसैगरी समारोहको सक्रियतामा बिहान प्रभातफेरी गरिएको थियो । पद्मोदय माध्यामिक विद्यालयबाट शुरु भएको प्रभातफेरी पुतलीसडक, बागबजार, रत्नपार्क हँुदै राष्ट्रिय सभागृहमा आएको थियो । प्रभातफेरीमा योगसँग सम्बन्धित सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

सरकारले प्रत्येक माघ १ गतेलाई योग दिवसका रुपमा मनाउँदै आइएको छ । आज मुलुकभर ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने मूल नाराका साथ पाँचौं राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

हेर्नुस् तस्विरहरु

yog1 1
yog1 7
yog1 6
yog1 5
yog1 4
yog1 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७