माइबेनी मेला भर्न भारतबाट पर्यटकको ओइरो


१ माघ २०७६, बुधबार
maibeni mela

इलाम, १ माघ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाइको सीमामा लागेको माइबेनी मेलामा दर्शनार्थीहरुको भीड लागेको छ ।

माई र जोगमाई खोलाको सङ्गमस्थल माइबेनीमा आज बिहानैदेखि मकर नुहाउने र शिव मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको हो । परम्परागतरूपमा लाग्दै आएको मेलामा नेपालका विभिन्न ठाउँसहित भारतका विभिन्न क्षेत्रहरुबाट समेत उल्लेख्य दर्शनार्थीहरुको उपस्थिति रहेको छ । माइखोलामा नुहाएर माई मन्दिरमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

मेलामा विभिन्न व्यावसायिक स्टलहरुका साथै स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरु बिक्रीका लागि राखिएको छ । साथै दर्शनार्थीलाई स्वास्थ्य समस्या हुन्छ भनेर स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ ।

maibeni mela 1
माइबेनी मेलामा विक्रीका लागि राखिएको उखु ।

मेलालाई मध्यनजर गर्दै विद्युत् र खानेपानीको ब्यवस्थासमेत गरिएको छ । उक्त स्थानमा अस्थायी शौचालय निर्माण गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष तथा माइजोगमाई गाउँपालिका–४ का अध्यक्ष गणेशकुमार राईले जानकारी दिए ।

जोगमाई र माइखोलको दोभानमा रहेको माइबेनी इलामका तीन स्थानीय तह इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको सङ्गमस्थल हो । माइबेनी इलाम जिल्लाकै महत्वपूर्ण धार्मिकस्थलका रुपमा लिइन्छ ।

हरेक वर्षको माघे सङ्क्रान्तिमा यस ठाउँमा मेला लाग्ने गरेको छ । मेलालाई मर्या्दित, सुरक्षित र झै–झगडामुक्त बनाउन माइबेनी मेला प्रवेश गर्ने सबै प्रवेशद्वारहरुमा सुरक्षाकर्मीको समेत बाक्लो परिचालन गरिएको छ ।

मेलामा विशेष गरेर उखु, विभिन्न जातका तरुल, तरकारीलगायत बस्तुहरु बिक्रीका लागि राखिएको छ । त्यस्तै विभिन्न क्षेत्रबाट व्यवसायीहरुले मेलामा होटलसमेत सञ्चालन गरेका छन् । प्लाष्टिक, स्टिल, झर्केका सामानसमेत मेलामा राखिएको छ । यस क्षेत्रका स्थानीयवासीले माघे सङ्क्रान्तीलाई विशेष पर्वकै रुपमा लिने गर्दछन् । गएको २८ गतेदेखि लागेको मेला माघ २ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाका लागि भन्दै केही दिन अगाडि नै माइजोगमाई गाउँपालिकाले आज बिदा दिएको थियो । यसै क्रममा प्रदेश सरकारले समेत बिदा दिएको छ । बिदा भएका कारण पनि स्थानीयवासीका साथै कर्मचारी, विद्यार्थी तथा श्रद्धालुको भीड लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७