प्रदेश-१ मा सस्तोमा खाना खुवाउनेको लहर


२ माघ २०७६, बिहीबार
sasto khana

इनरुवा, २ माघ । प्रदेश–१ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ ।

इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो । पूर्वका विभिन्न शहर र बजारमा गरीब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाजीझैं चल्दा सुनसरीको इनरुवामा भने स्थानीयवासीले बुधबारबाट निःशुल्क खाना खुवाउने अभियान चलाएका हुन् ।

अभियानका लागि सत्य यादवको संयोजकत्वमा स्थानीय समाजसेवी सम्मिलित १० सदस्यीय समिति गठन गरिएको छ । इनरुवा बसचोकमा शुरु गरिएको निःशुल्क भरपेट खाना कार्यक्रम तत्काल रु एक लाखबाट थालिएको आयोजक समितिका संयोजक यादवले बताए ।

गरीब, असहाय, विपन्न र बेघर भई सडकमा भौंतारिएर दिन बिताइरहेका समुदायलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान शुरु गरिएको हो । प्रारम्भिक तवरमा तीन दिनका लागि भनि अघि सारिएको अभियानमा सहयोगी दाताको संख्या थपिन थालेकाले आफूहरुलाई हौसला प्रदान भएको अभियानका संयोजक यादवको भनाइ छ ।

निःशुल्क खाना कार्यक्रममा पुग्ने जोकोहीले दाल, भात, अचार, पापड खान पाउनुका साथै निःशुल्क पानी समेत पिउन पाउने आयोजकले जनाएको छ । इनरुवामा अभियानको उद्घाटन उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले गरे । केही दिन अगाडि मोरङको विराटनगरमा रु १० मा पेटभरी खाना खुवाउन थालिएको थियो । विराटनगर बजारमा रहेको कालीमन्दिर अगाडिबाट शुरु तिरुपति क्याटरिङ सेवामार्फत रु १० मा खाना खुवाउन थालिएको छ ।

विराटनगरबाट शुरु भएको यो अभियान अहिले १ नम्बर प्रदेशमा लहरको रूपमा चलेको छ । विराटनगरमा बास्मती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी भिखारी वा गरीब मानिसलाई खाना खुवाउन चाहेमा जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ ।

दमकको मुख्य चोकमा रहेको गोरखा डिपार्टमेन्ट स्टोर अगाडि समेत मासुभात १० रुपैयाँमा र सादा खाना ५ रुपैयाँमा खुवाउन शुरु भएको छ । भद्रपुर र विर्तामोडमा समेत सस्तो खाना खुवाउने अभियान शुरु भएको छ । कतै १० रुपैयाँमा त कतै ५ रुपैयाँमा खाना खुवाउने अभियान शुरु भएको बेला सुनसरी सदरमुकाम इनरुवामा भने निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७