१५६ मेगावाट क्षमताको माडी आयोजनाको सम्भाव्यता अध्ययन शुरु


२ माघ २०७६, बिहीबार
pun1 756259240

काठमाडौं, २ माघ । सरकारले १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि प्रारम्भिक प्रक्रिया शुरु गरेको छ । चिनियाँ राष्ट्रपतिले गत असोज २५ र २६ गते गरेको नेपालको दुई दिवसीय राजकीय भ्रमणको क्रममा भएको सहमतिका आधारका सरकारले आयोजनाको काम शुरु गरेको हो ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा नै सो आयोजना अगाडि बढाउनेसम्बन्धी समझदारीपत्रमा सरकारी स्वामित्वको एचआइडिसिएल र चीनको पावर चाइनाका बीचमा समझदारी भएको थियो । सोही समझदारीका आधारमा आयोजना थप कामका लागि आज रोल्पाको माडीचौरमा आयोजनाको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले आयोजना क्षेत्र माडीचौरमा सम्पर्क कार्यालयको स्थापनासँगै आयोजनाको सम्भाव्यता अध्ययनको काम शुरु भएको हो । सो आयोजना प्रदेश नं ५ को ठूलामध्येको एक आयोजना हो ।

आयोजनामा चीनकै ठूलो जलविद्युत् लगानी तथा उत्पादन कम्पनी पावर चाइना र नेपालको सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानी हुनेछ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने बताए । ‘राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना निर्माण हुने चरणमा छन् । तीमध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नं ५ कै गेमचेन्जर हुनेछ’, मन्त्री पुनले भने ।

उनले आयोजना समयमै निर्माण सम्पन्न हुने उल्लेख गरे । ‘यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्छ तर यो आयोजनाले १८ महिनामा विस्तृत अध्ययन सक्ने र निर्माण प्रक्रियामा जानेछ’, मन्त्री पुनले भने, ‘पावर चाइना र एचआइडीसिएलले यो आयोजनाको निर्माण गर्दैछन् । दुवै अनुभवी कम्पनी हुन् र समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने विश्वास छ ।’

मन्त्री पुनले माडी जलाशययुक्त बहुउद्देश्यीय आयोजना भएको बताउँदै जलविद्युत् आयोजना सम्पन्न भएलगतै त्यहाँको पानीलाई दाङ लगेर सिचाइ समेत हुने बताए । यो आयोजनाले ‘समृद्ध रोल्पा, सुखी रोल्पाली’ को हाम्रो आकांक्षालाई पूरा गराउन सघाउ पुर्‍याउने मन्त्री पुनको विश्वास छ ।

कार्यक्रममा पावर चाइना यूरेसियाका उपाध्यक्ष पान टेनक्वूले यो आयोजना निर्माण तथा लगानी गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले पावर चाइनाले नेपालमा १० आयोजना निर्माण गरेको बताउँदै यो आयोजना समयमै सम्पन्न गर्ने बताए ।

एचआइडीसियलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले नमूना माडी जलाशययुक्त आयोजनालाई नमूना जलविद्युत् आयोजनाको रूपमा निर्माण गरिने बताए । ‘आयोजना समयमै सक्छौं । यो नमूना आयोजना बन्नेछ’, उनले भने, ‘त्यसका लागि हामीले आजबाटै आयोजना स्थलको काम सुरू गरिसकेका छौं ।

स्थानीयको पूर्ण सहयोग हने प्रतिबद्धताबाट हामी उत्साहित छौं ।’ आयोजनास्थल रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पाको गौरवको रूपमा रहेको आयोजनाका लागि मुआब्जा वितरणलगायतका सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७