अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ देखि


३ माघ २०७६, शुक्रबार
Dayahang Rai

काठमाडौं, ३ माघ । तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १ देखि ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेभएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवबारे जानकारी दिने उद्देश्यले प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सहरी विकास राज्यमन्त्री तथा चलचित्रकर्मी रामवीर मानन्धरले चलचित्र क्षेत्रले राष्ट्रको पहिचानलाई बढवा दिने बताए ।

मुलुकको विकास र समृद्धिमा कलाकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा राष्ट्रिय महत्वका विषयहरुलाई प्रचारप्रसारमा ल्याउन आग्रह गर्दै उनले राष्ट्रलाई चिनाउने ढङ्गले चलचित्रमा विषयवस्तु समावेश गर्न र राष्ट्र एंव राष्ट्रियतालाई सर्वोपरी मानेर चलचित्र बनाउन सुझाव दिए ।

राज्यमन्त्री मानन्धरले भन्नुभयो, “भारत अमेरिकालगायत देशहरुले राष्ट्रिय पहिचानलाई चलचित्रमा महत्व दिएका हुन्छन् तर तर नेपाली चलचित्रमा त्यस्तो पाउन सकिएको छैन् ।”

अभिनेता निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकास र प्रवर्धनका लागि विभिन्न संस्थाहरु सक्रिय रहनु सकारात्मक सङ्केत भएको उल्लेख गर्दै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सबैको सहयोग अपरिहार्य भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले १० अन्तर्राष्ट्रिय, ३५ लघु, पाँच नेपाली र १५ नेपाली लघु चलचित्र तथा आठ वृतचित्र र ६ एनिमेटेड गरी ७९ चलचित्र प्रदर्शन गरिने जानकारी दिए । उनले ५५ देशबाट प्राप्त ६०० चलचित्रबाट उत्कृष्ट छनिएका मात्र प्रदर्शन गरिने जानकारी दिए ।

‘विगतमा कथानक चलचित्र मात्र प्रदर्शन गरिन्थ्यो’, उनले भने, ‘यो वर्ष एनिमेसन र वृत्तचित्र विधा पनि थप गरिएको हो ।’ महोत्सवमा सबै विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने पनि उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत कथानक फिल्मलाई एक हजार ५०० अमेरिकी डलरसहित गौतमवुद्ध अवार्ड, सर्वोत्कृष्ट वृतचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलरसहित वाग्मती अवार्ड प्रदान गरिने छ ।

फेस्टिभलमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड फिल्म निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्याङ्कन गर्नेछ । यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओपाओलो, र सिङ्गापुरका फिल्ममेकर युनि हाडी सदस्य रहने छन् ।

वृत्तचित्र, लघु चलचित्र तथा ऐनिमेटेड चलचित्रमार्फतको जुरीको नेतृत्व श्रीलङ्कन फिल्ममेकर अनोमा राजाकरुणाले गर्नुहुने छ भने उनलाई थिबाउट फ्रेक र करुण थापाले सघाउने छन् ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत कथानक चलचित्रलाई रु एक लाखको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई रु ४० हजारको पुरस्कार प्रदान गरिने छ । कथानक चलचित्रमार्फतका उत्कृष्ट निर्देशक, लेखक, छाँयाकार अभिनेता, र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ । महोत्सवमा फिल्म प्रर्दशनसँगै विभिन्न विषयमा छलफल पनि सञ्चालन हुनेछन् । छलफलमा नायक राजेश हमालले आफ्नो अभिनय यात्राका बारेमा अनुभव सुनाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७