जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार


३ माघ २०७६, शुक्रबार
kraser

काठमाडौं, ३ माघ । पूर्व सांसद तीर्थ लामाले खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा परेको भन्दै पटक–पटक स्थानीयले विरोध गर्दै आएका छन् ।

कांग्रेसकै अर्का नेता कुन्साङ लामाको नमोबुद्ध–६ मा ब्लु साइन स्टोन क्रसर उद्योग छ । उनी नमोबुद्ध नगरपालिकाको मेयरमा पराजित उम्मेदवार हुन् । त्यसको नजिकै डन पृष्ठभूमिका गणेश लामाको क्रसर छ । उनी कांग्रेस नेता विजयकुमार गच्छदारका विश्वासपात्र हुन् ।

नेकपाका नेताहरू प्रेम लामा र उज्ज्वल लामाले पनि क्रसर चलाएका छन् । प्रेम जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् । त्यस्तै प्रदीप बोगटीले लामो समयदेखि ढुंगाखानी चलाउँदै आएका छन् । पनौती तथा बेथानथोकका क्रसर नेता तथा प्रहरीलाई समेत साझेदार बनाएर चलाइएको छ । रोसी तथा सुनकोसी नदीबाट मापदण्डविपरीत रोडा–बालुवा निकाल्ने तथा क्रसर चलाउनेहरू पार्टीमै आबद्ध छन् ।

जिल्ला समन्वय समितिको नेतृत्वले काभ्रेका सबै क्रसर तथा खानी अनुगमन गर्दा अवैध रूपमा सञ्चालन भएको भेटिएको थियो । ‘सबै उद्योगले कुनै न कुनै मापदण्ड पूरा नगरेको भेटिएको छ,’ काभ्रेका सिडिओ श्रवण तिमल्सिनाले भने, ‘छिटै प्रतिवेदन सार्वजनिक गर्छौँ ।’

गुल्मी : रेसुंगा नगरपालिकाका मेयरको क्रसर उद्योग छोराको नाममा

इस्मा गाउँपालिका–२ पनाहामा ठूलो बेनामे क्रसर सञ्चालनमा छ । दर्ता त परको कुरा, वातावरणीय मूल्यांकनसमेत नगरी सञ्चालन गरिएको यो क्रसर सञ्चालकमध्ये एक वीरेन्द्र भुसाल रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालका छोरा हुन् ।

अर्का सञ्चालक नेकपाका जिल्ला सचिवालय सदस्यसमेत रहेका निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेल हुन् । भुसाल रामेछाप कन्स्ट्रक्सन र पोखरेल सुनील समिति निर्माण सेवाका सञ्चालक पनि हुन् । तीन वर्षअघि तम्घास–सिमलटारी–प्युठान सडक कालोपत्रेका लागि कालिका प्यासेफिक कन्स्ट्रक्सनलाई अस्थायी रूपमा सञ्चालन अनुमति दिइएको क्रसर काम सकिएपछि भुसाल र पोखरेल मिलेर किनेका हुन् । अहिले उनीहरूले नदी दोहन गरिरहेका छन् ।

सिन्धुपाल्चोक : जिल्लाका नेता मात्रै होइन, भक्तपुरका जनप्रतिनिधि समेतको लगानी

मेलम्ची नगरपालिका–१२ स्थित रक्तमाला र पाल्चोकी इन्फ्रास्ट्रक्चर क्रसरमा भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको लगानी छ । मेलम्ची–१३ को गंगा–इन्द्रावती क्रसरमा पनि उनको सेयर छ । त्यस्तै मेलम्ची–१३ का वडाध्यक्ष देवेन्द्र घोरासैनीले पनि चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा कालिन्चोक भगवती एग्रिगेट क्रसर चलाएका छन् ।

यो क्रसरमा नेकपा जिल्ला नेता गोविन्द पराजुलीको पनि लगानी छ । भक्तपुरका जनप्रतिनिधिसमेत सिन्धुपाल्चोक पुगेर क्रसर चलाएका छन् । मेलम्ची–१३ को जालपादेवी क्रसर सूर्य्विनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको हो । चौतारा–साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले भने छोरा रघुसिंह तामाङको नाममा इन्द्रावती–१२ मा अविरल इन्द्रावती क्रसर सञ्चालन गरेका छन् ।

यो क्रसरमा नेकपा जिल्ला सचिव दावा तामाङको पनि लगानी छ । चौतारा–साँगाचोकगढी–१२ स्थित सिन्धु स्टोन एन्ड क्रसर कांग्रेस जिल्ला नेता केशवराज गिरीको हो । त्यस्तै नेकपा जिल्ला सदस्य उपेन्द्र तामाङको पनि मेलम्ची–११ मा पाल्चोकीमाई क्रसर उद्योग छ । यी सबै क्रसर मापदण्डविपरीत सञ्चालनमा छन् ।

कञ्चनपुर : डडेल्धुराको परशुराम नगरपालिकाका मेयरको कञ्चनपुरमा क्रसर
हुलाकी राजमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी शर्मा जेभीले कञ्चनपुरको वेदकोट नगरपालिका–३ भम्कामा अवैध रूपमा क्रसर चलाएको छ । सो कम्पनीका सञ्चालक भीम साउद परशुराम नगरपालिका डडेल्धुराका मेयर हुन् । जनप्रतिनिधि भएरसमेत मापदण्ड विपरीत क्रसर चलाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

दोलखा : दर्ता नै नगरी चलाएका छन् गाउँपालिका अध्यक्षले क्रसर उद्योग
दोलखाका आठमध्ये दुई क्रसरमा जनप्रतिनिधिको लगानी छ । कालिञ्चोक गाउँपालिका–७ स्थित गुमुखोला रोडा–ढुंगा उद्योग नेकपा दोलखाका अध्यक्ष समेत रहेका तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको हो । मापदण्डविपरीत चलेको उनको उद्योगले तामाकोसी दोहनमा गरिरहेको छ ।

त्यस्तै सिँगटीमा रहेको सिँगटी क्रसर उद्योग बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काको हो । यो उद्योग दर्ता नै नगरी सञ्चालित छ । सुरुमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेशमार्ग निर्माणका लागि भन्दै अस्थायी रूपमा स्थापना भएको उद्योग खड्काले निरन्तर चलाइरहेका हुन ।

सोरुङ खोला र गोँगर खोलाआसपासका क्षेत्र दोहनमा उनको उद्योग संलग्न छ । जिल्लामा अन्य ६ क्रसर पनि अवैध रूपमा चलिरहेका छन् । ०६३–६४ मा तामाकोसी–मन्थली–खुर्कोट सडकको कालोपत्रेका लागि दोलखाको भिरकोटमा सञ्चालन गरिएका दुई अस्थायी क्रसर उद्योग आयोजना सकिएपछि पनि अवैध रूपमा चलिरहेका छन् । यी उद्योग नवीकरण पनि भएका छैनन् ।

सिराहा : नदीको अवैध उत्खनन, सामग्री बोक्न मेयर र वडाध्यक्षकै गाडी प्रयोग
कर्जन्हा नगरपालिका–४ को जानकी क्रसर उद्योगका सञ्चालक हुन्– समाजवादी पार्टीका नेता विकेश्वर गोइत । उनी तत्कालीन फोरम नेपालको किसान संघका अध्यक्षसमेत थिए । सिराहा नगरपालिका–११ माडर घर भएका गोइतको क्रसर उद्योगले चुरे पर्वत दोहन गरिरहेको छ ।
यसमा भारतीय नागरिक मुकेश यादवको समेत लगानी छ । त्यस्तै, कर्जन्हा नगरपालिका–३ को प्रशान्त बालुवा प्रशोधन उद्योगमा नेकपानिकट विनोद साहको लगानी छ ।

यसमा नेकपाका सांसदको समेत लगानी रहेको स्रोतले बताउँछ । कमला नदीको पूर्वी बाँधनजिकै कर्जन्हा–७ मा रहेको कमलामाई क्रसर उद्योगमा जनकपुर उपमहानगरपालिका–२ का रामबाबु साह, रुबी साह, महोत्तरीका मोहम्मद खलिल राइन, मो. यसराइल इरानको लागनी छ । उनीहरू नेकपा कार्यकर्ता हुन् ।

अवैध क्रसरमा राजनीतिक लगानी र संरक्षण यति बलियो छ कि नदीजन्य सामग्री उत्खननमा मेयर र वडाध्यक्षकै गाडी प्रयोग हुन्छन् । नियन्त्रणमा लिए उल्टै प्रहरी नै कारबाहीमा पर्छ । प्रदेश २ को प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति रामचन्द्र मण्डल नेतृत्वको अनुगमन टोलीले दुई महिनाअघि धनुषा र सिराहाका नदीमा अनुगमन गरेको थियो ।

टोलीले कमला नदीमा अवैध उत्खनन गर्दैगर्दा धनुषाको गणेशमान–चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवका चार टिपर र वडा नम्बर ८ का वडाध्यक्ष रितेशकुमार सिंहका दुई स्काभेटर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका सवारीसाधन प्रहरीको जिम्मा लगाएर टोली कमला नदीबाटै फर्किएको थियो ।

तर, केही समयमै प्रहरीले टिपर र स्काभेट छाडिदिएको थियो । त्यसयता सिराहाका क्रसर उद्योगको अनुगमनमा टोली फर्किएको छैन । अवैध उत्खननमा प्रयोग भएका टिपर र स्काभेटर प्रहरीलाई बुझाएर सिडिओलाई जानकारी गराई आफूहरू फर्किएको समिति सदस्य प्रदेश सांसद बिक्की यादवले बताए । अवैध रूपमा सञ्चालित क्रसर रोक्न आवाज उठाउँदा पटक–पटक धम्की आएको कर्जन्हा–२ बन्दीपुरका प्रकाश कोइरालाले बताए ।

बाँके : क्रसरमा कांग्रेस नगर सभापति र राप्तीसोनारी गाउँपालिका वडाध्यक्ष साझेदार
हुलाकी सडक निर्माणका लागि भन्दै राप्तीसोनारी–८ शमशेरगन्जमा गणपति क्रसर उद्योग सञ्चालनमा छ । यो क्रसर खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लले सञ्चालन गर्दै आएका छन् । यो क्रसरमा कांग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्टको पनि लगानी छ ।

अर्का लगानीकर्ता तत्कालीन जिल्ला विकास समिति बाँकेका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले भने अहिले हात झिकिसकेका छन् । ‘पहिले मेरो पनि केही प्रतिशत लगानी थियो, अहिले झिकिसकेको छु,’ उनले भने । कांग्रेस नेता विष्ट पनि क्रसरमा आफ्नो लगानी नभएको दाबी गर्छन् । तर, उनी हप्तामा दुई–तीनपटक क्रसरमा पुग्ने गरेको स्थानीय बताउँछन् । ‘मेरो लगानी छैन भन्नुहुन्छ, तर हप्तामा दुई–तीन पटक क्रसर उद्योगमा आउनुहुन्छ,’ एक स्थानीयले भने ।

दाङ : पूर्वमन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्म क्रसरका मालिक
पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता दीपक गिरीको लगानीमा दाङमा दुईवटा क्रसर उद्योग सञ्चालनमा छन् । श्रीमतीको नाममा समेत सेयर राखेर उनले राप्ती नदीमा ॐ नमः शिवाय र स्वर्गद्वारी क्रसर उद्योग चलाएका छन् । त्यस्तै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफ्नै गाउँपालिकामा पर्ने राप्ती नदीमै देउखुरी भ्याली क्रसर उद्योग चलाएका छन् ।

तत्कालीन संविधानसभा सदस्य बुद्धिराम भण्डारीले पनि दंगिशरण गाउँपालिकामा गणेश बालुवा वासिङ उद्योग सञ्चालन गर्दै आएका छन् । यो उद्योगमा तुलसीपुर उपमहानगरपालिका–५ का अध्यक्ष वीरेन्द्र शाहको पनि लगानी छ । त्यस्तै, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले छोरा प्रकाशको नाममा सेयर हालेर सोही गाउँपालिकामा कृप्रभिज्ञा बालुवा वासिङ उद्योग चलाएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७