फेरिंदै समाज : ब्राम्हण–क्षेत्री महिला पञ्चेबाजा बजाउँदै


३ माघ २०७६, शुक्रबार
panche baja mahila

बेनी, ३ माघ । बेनी नगरपालिका–४ राक्सेका बह्माण–क्षेत्री समुदायका महिला पञ्चेबाजा बजाउन सिक्न व्यस्त छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनु हुँदैन भन्ने परम्परागत मान्यतालाई लत्याउँदै उनीहरुले नयाँ इतिहास कायम गर्न बाजा बजाउन सिक्न थालेका हुन् ।

बारीका पाटामा सहनाई फुकिरहेकी अगुवा हीरा पाौडेलको नजिकै दुर्गा पौडेलले ढोलकी बजाउँदै थिइन् । सहनाई पञ्चेबाजामध्ये प्रमुख बाजा हो । घरायसी काम सक्ने बित्तिकै हतारहतार खेतमा पुग्ने गरेका यहाँ महिला दैनिकजसो दमाह, ट्याम्को, कर्णाल र नरसिङ्गा जस्ता विभिन्न थरीका बाजा सिक्न व्यस्त छन् ।

महिलाले बाजा छुन पनि हुँदैन भन्ने मान्यतालाई अन्त्य गर्न गाउँका बह्माण, क्षेत्री र दलित समुदायका महिला एकजुट भएर पञ्जे बाजा सिक्न जुटेका छन् । पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत राक्सेमा सडककै छेउमा रहेको बारीको पाटामा महिलाले बाजा बजाएको देखेर सडकमा सवारीसाधनमा आवतजावत गर्ने यात्रुले समेत अनौठो मान्ने गरेको पौडेलले बताइन् ।

उनले शुरुवातमा केही असहज भए पनि विस्तारै महिलाले सिक्न आकर्षित हुँदै आएको जानकारी दिइन् । ‘मैले सीप हस्तान्तरणको अभियानको रुपमा लिएको छु ।’ उनले भन्नुभयो । पुरुषले मात्रै बजाउने पञ्चेबाजामा महिलालाई समेत अब्बल बनाउन तालीममा सहभागी भएको झ्याली बाजा सिक्दै गरेकी शान्ति पौडेलले बताइन् ।

महिला मात्र सहभागी नौमती बाजा समूह बनार्ई प्रकाश परियारले प्रशिक्षण दिइरहेका छन् । स्वागत तथा सम्मानलगायतका कार्यक्रम, मङ्गलधुन, दुलाहा अन्माउने, दुलहीको घरमा पुगेपछि, सिन्दूर हाल्ने, गोडा धुने, कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा, भित्र्याउँदा मङ्गलधुनका प्रस्तुति गर्ने कला प्रशिक्षणमा जानकारी गराइएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७