काष्ठमण्डपका लागि थप काठ ल्याउन समस्या


३ माघ २०७६, शुक्रबार
kastha mandap

काठमाडौं, ३ माघ । पाँच दिनदेखि नियमित पानी परेपछि काष्ठमण्डप पुनर्निर्माणका लागि अभाव भएको आवश्यक काठ ल्याउन समस्या भएको छ ।

निर्माणका क्रममा काठको अभाव भएपछि ८ हजार क्युफिट काठ धनगढीबाट ल्याइने तयारी भएको थियो । अगुप भएको काठ गत पुस १५ सम्ममा ल्याइने तयारी गरेपनि हालसम्म ल्याउन सकिएको छैन ।

अबको केही दिनमा काठ ल्याउने तयारी भएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । माघसम्म पनि काठ ल्याउन नसके पुनर्निर्माणको काम रोकिने छ । छानाका लागि ८ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा धनगढीबाट काठ ल्याउने तयारी गरिएको हो । निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोका बुट्टा कुद्ने काम भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए ।

हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको छ । ‘अहिले मुख्य ४ थाम राखी बिचमा गारो लगाउने काम सकिएको छ’, उनले भने । समयमा नै काठको व्यवस्था भए यसअघिभन्दा तीव्ररूपमा काम हुने जनाइएको छ । हाल दैनिक ३० कामदारले नियमितरूपमा काम गरिरहेका छन् ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रूपमा सो सम्पदाको पुनर्निर्माण शुरु गरिएको हो ।

तीन वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका ४ थाममध्ये ३ नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ ।

उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ ।

पुनर्निर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । सातौँ शताब्दीको काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको हो । केही यस अघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७