बैंकको ऋण तिर्न नसकेपछि वडाअध्यक्षले गरे आत्महत्या, के छ सुसाइड नोटमा ?


३ माघ २०७६, शुक्रबार
khadga

दाङ, ३ माघ । बाँकेको कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेको खुलासा भएको छ ।

६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेका हुन् । उनको सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ । खड्काले पुस २९ गते भारतको बहराइचस्थित शंकर होटेलमा विष सेवन गरी आत्महत्या गरेका थिए ।

खड्काले विषादी सेवन गर्नु पहिले लखेको पत्रमा बैंकले ऋण चुक्ता गर्न पटक–पटक ताकेता गरेपछि तनाब झेल्न नसकेर आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख गरेको
कोहलपुरका मेयर लुटबहादुर राउतले जानकारी दिए ।

‘उहाँको बैंकमा २०–२२ लाख रुपैयाँ ऋण रहेछ, त्यो ऋण तिर्न भनेर बैंकले ताकेता गरेको भन्ने कुरा उहाँले पत्रमा लेख्नु भएको छ,’ मेयर राउतले सुनाए, ‘त्यसमा छोराहरूले समेत आफूलाई कुनै सहयोग नगरेको भन्ने कुरा पनि लेख्नु भएको छ ।’

खड्काले आत्महत्याको लागि उपयुक्त स्थान भारतको बहराइचस्थित शंकर होटल देखेको हुँदा त्यहाँ आएर विषादी सेवन गरेको भन्दै होटल साहुलाई केही पनि दुःख नदिन आग्रह समेत गरेका छन् । जाजरकोटबाट बसाइँ सरेर कोहलपुर आएका वडाध्यक्ष खड्का पुस २९ गते बिहान ७ बजेतिर सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तर उनी मेहलुकना नगई साढे १० बजेतिर सीमाना पार गरेर भारतीय बजार रुपैडिहा हुँदै बहराइच गएको मेयर राउतले जानकारी दिए । सोही दिन दिउँसो ३ बजेतिर उनले होटल बुक गरेको र त्यसपछि पत्र लेखेर आत्महत्या गरेको देखिएको छ ।

उनको शव भेटिएको खबर आएपछि कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू बहराइच पुगेर घटनाबारे अध्ययन गरेर फर्केको मेयर राउतले जानकारी दिएका छन् । मेयर राउतले भनेझैं वडा अध्यक्षले विषादी सेवन गरी आत्महत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट देखिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा डिएसपी कुलदीप चन्दले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७