मुख्यमन्त्रीको फोटोमा हानियो जुत्ता, चार जना पक्राउ


३ माघ २०७६, शुक्रबार
pakrau 1

जनकपुर, ३ माघ । प्रदेश–२ मा विभिन्न मन्त्रालय तथा सांसदहरुले उपभोक्ता समितिमार्फत गराएको कामको रकम भुक्तानी नभएको भन्दै आन्दोलनरत संघर्ष समितिले आज (शुक्रबार) मुख्यमन्त्रीको फोटोमा जुत्ता प्रहार गरेको छ । आन्दोलनरत उपभोक्ता संघर्ष समितिले पूर्व निर्धारित कार्यक्रम अनुसार जनकपुरधामको जिरोमाईलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिरमा जुत्ता प्रहार गरेको हो ।

प्रदेश–२ का मुख्यमन्त्री मो. लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको फोटो सार्वजनिक स्थानमा झुण्डयाएर जुत्ता हानेका हुन् ।

विभिन्न मन्त्रालयले उपभोक्ता समितिमार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित जुत्ता हान्ने क्रममा चार जनालाई पक्राउ गरेको छ ।उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरुलाई सार्वजनिक स्थलमै जुत्ता हान्न थालेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, बिमलेश चौधरी र शंकर साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत आर्थिक वर्ष २०७५–०७६ मा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि निरन्तर रुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् । यसअघि उपभोक्ता समितिहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शन, पूर्वाधार विकास कार्यालयमा तालाबन्दीस मेत गरेका थिए ।

उपभोक्ताहरुको बक्यौता रकम भुक्तानीबारे मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने माग गर्दै सभामुख सरोजकुमार यादवले जवाफ दिन प्रदेश सरकारले रुलिङ समेत गरेका थिए । तर मुख्यमन्त्रीले हालसम्म जवाफ दिन नसकेपछि अनिश्चितकालिन संसद अवरुद्ध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७