विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल


४ माघ २०७६, शनिबार
shankar pokhrel scaled

परासी, ४ माघ । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताए ।

पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालीमको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य हाम्रो हो र राज्यलाई बलियो बनाएर मात्र हामी बलियो भइन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेकामा जोड दिए ।

उनले भने, ‘अहिले पनि समाजमा राज्यको विद्रोहीका रुपमा समाजका सदस्यले आफूलाई हेर्ने गरेको पाइन्छ, तर संविधानले दिएका अधिकार प्रयोग गर्न सबल र सक्षम राज्य हुनुपर्दछ, नागरिकले गौरवबोध गर्न सक्दछन्, त्यस प्रकारको राज्य बनाउनु हामी सबैको अभिभारा हो ।’

मुख्यमन्त्री पोखरेलले नेपाली समाजलाई लाहुरे संस्कृतिले गाँजेका कारण यहाँ गर्न सकिने काम गर्न पनि युवा विदेश पलायन हुने गरेका उल्लेख गरे । समृद्ध राष्ट्र निर्माणका लागि स्वदेशमा उद्यमशील बन्न उनले आग्रह गरे ।

उनले भने, ‘हामीले हाम्रो देशलाई युवा निर्यात गर्ने देशका रुपमा चिनाउन बाध्य छौँ, तर स्वदेशमै त्यो भन्दा महत्वपूर्ण कामले हामीलाई पर्खिरहेको हुन्छ, हामीले उपेक्षा गर्छाैँ, राष्ट्रलाई सबल बनाउन स्वदेशमा उद्यमशील बन्नुपर्छ ।’

समाजमा देखिएको निराशा र कुण्ठालाई सकारात्मक र आशावादी समाजको रुपमा विकास गर्न युवाको भूमिका हुने बताउँदै मुख्यमन्त्री पोखरेलले स्काउटको यस किसिमको तालीमले सुचरित्र र असल नागरिक तथा समाज निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले विपद्का बेला यूवा परिचालनमार्फत व्यवस्थापन गर्न तथा समृद्धिको प्रमुख आधार युवा जगत नै भएको उल्लेख गरे । युवा तथा खेलकूद विकास मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले यस वर्षलाई युवा परिचालनको वर्ष घोषणा गरेकाले स्काउट अभियानलाई गाउँ गाउँसम्म पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए ।

पाँच दिनसम्म सञ्चालन हुने आधारभूत तालीममा प्रदेश नं ५ का १२ जिल्लाका १०९ वटै स्थानीय तहका गरी ६०३ प्रशिक्षार्थी तथा ११० प्रशिक्षकको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले स्काउटको तालीम भाइचारा, एकता, सद्भाव र समाज रुपान्तरणमा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७