आस्था राउतलाई दीपकराज गिरीको सुझाव : गल्ती अरुकै भए पनि प्रहरीसँग माफी माग


४ माघ २०७६, शनिबार
deepak aastha

काठमाडौं, ४ माघ । गायिका आस्था राउतले प्रहरीप्रति दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनीमाथि कार्वाही गर्ने बताइरहेको छ ।

अहिले सामाजिक सञ्जालहरुमा प्रहरीको दुर्व्यवहारको कुरा गौण बन्दै गएको छ भने गायिका आस्था राउतप्रति आलोचना बढ्दै गएको छ । चर्चित गायिकामाथिको यस्तो आलोचनाले सिङ्गो कला क्षेत्रलाई दुःखाएको छ । यसैले अहिले कला क्षेत्रका विभिन्न व्यक्तिहरुले गायिका आस्थालाई विभिन्न सुझावहरु दिंदै यस घटनालाई ‘बिट’ मार्न आग्रह गरेका छन् ।

कलाकार दीपकराज गिरीले गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । आज आफ्नो फेसबुक पेजमा आस्थालाई सम्बोधन गर्दै उनले त्रिवुभन विमानस्थलमा भएको घटनाप्रति प्रहरीसँग माफी माग्न सुझाव दिएका हुन् ।

गल्ती आस्था र प्रहरी जवान दुवैबाट भएको भन्दै उनले चौतर्फी आस्थाको आलोचना भइरहेको भन्दै आफ्नो गल्ती स्वीकार गर्न उनले आस्थालाई सुझाव दिएका छन् ।

‘आज कतिपय स्ट्याटसहरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु’, उनले लेखेका छन्, ‘तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौं, यो वास्तविकतालाई बुझौं ।’ गल्ती अरुकै भए पनि दोष कलाकारलाई आउने गरेको उनको भनाइ छ ।

नेपालमा सेलिब्रिटी कल्चर नरहेको भन्दै कलाकार दीपकराज गिरीले नेताहरुलाई मात्रै भीआईपी मान्ने प्रवृतिको समेत आलोचना पनि गरेका छन् । ‘विदेशमा प्रायः यस्तो घटना हुँदैन किनकी त्यहाँ नेता मात्रै भीआईपी हुँदैनन्, धेरै कर तिर्ने ब्यापारीहरू, नाम चलेका खेलाड़ी, कलाकारहरूलाई पनि भीआईपी मानिन्छ’, उनले लेखेका छन् ।
यस्तो छ दीपकराज गिरीको स्टाटस

प्रिय आस्था बहिनी…,

यो विषयमा लेख्न मन थिएन । तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि बिगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु । यस्तै प्रकारका घटनाहरूबाट पाठ पनि सिकेको छु ।

समस्या कहाँबाट आयो भने तिमीले भीडको सामना गर्दै प्रहर लाई चेक गराउँदै अघि बढ्नु पर्‍यो । भीड र संबेदनशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ । उनीहरूलाई छुट्टै दबाब हुन्छ । उनीहरु १० घन्टे लामो ड्युटीमा हुन्छन् । सानो गल्ती भए जागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरूबाट अलि रूखो ब्यबहार निस्किन्छ पनि । त्यहाँ पनि निस्कियो होला ।

तर हामी कलाकार वा सेलिब्रिटीको गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ । सेलिब्रिटी भनेको सेतो कपडा रहेछ । अरू रङ्गमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहाल्छ । अतः सहनु पर्ने हामीले नै रहेछ । विदेशमा प्रायः यस्तो घटना हुँदैन किनकी त्यहाँ नेता मात्रै भीआईपी हुँदैनन्, धेरै कर तिर्ने ब्यापारीहरू, नाम चलेका खेलाड़ी, कलाकारहरूलाई पनि भीआईपी मानिन्छ । र सुबिधाजनक ढङ्गले चेक हुन्छ ।

जसका कारण भिडको सामना गर्नु पर्दैन । र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ । तर यो देशमा नेता मात्रै भीआईपी हो । यो संबेदनशीलतालाई हामीले बुझ्नुपर्छ, किनकी हामी भीडबाट नै गुज्रिनु पर्छ । त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ ।

मापसे काण्डमा म पनि परेँ । गल्ती मेरै थियो । तर जब म प्रहरीको पन्जामा परेँ, ममाथि भएको दुब्र्यबहार डर लाग्दो नै थियो । तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामीले नै होसियार हुनु पर्नेरहेछ, हामीलाई अन्याय नै भयो भने पनि ।

‘कलाकार हो फूर्ती देखायो होला फस्यो नि भनिँदो रहेछ’ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ पाउँ भनेर छट्निु नै सबैभन्दा उत्तम रहेछ र तिमीलाई पनि त्यस्तै केही रूखो ब्यबहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फेसबुक लाइभले गर्‍यो । त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।

तिमीलाई केही नभई त्यस्तो भनिनौ होला । तर बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियो अतः यो घटनालाई तिमीले हामीले सबैले एउटा पाठको रूपमा लिनु पर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ । आज कतिपय स्ट्याटस हरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु । तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौं, यो वास्तविकतालाई बुझौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७