गायिका आस्था राउतविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी दर्ता


५ माघ २०७६, आईतवार
Aastha Raut

काठमाडौं, ५ माघ । प्रहरी परिसर काठमाडौंमा गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा औपचारिक रुपमा उजुरी दर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले गत बिहीबार राउतले आफूमाथि ड्युटीमा रहेका बखत ‘गालीगलौज’ र ‘अभद्र व्यवहार’ गरेको भन्दै महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा उजुरी दिएकी थिइन् ।

महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जवान श्रेष्ठको उजुरी र सो घटनाको सीसीटीभी फुटेज महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी पठाएको थियो । प्रहरी आयुक्तको कार्यालयले सीसीटीभी फुटेज र जवान श्रेष्ठको उजुरीलाई आदार मान्दै काठमाडौं परिसरलाई औपचारिक रुपमा उजुरी दर्ता गरेर गायिका राउतमाथि कारवाही प्रकृया अगाडि बढाउन निर्देशन दिएको हो । आयुक्त कार्यालयको निर्देशन पछि परिसरमा औपचारिक रुपमा उजुरी दर्ता भएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेर गायिका राउतलाई अनुसन्धानका लागि झिकाउने प्रकृया अगाडि बढाउन लागेको जनाएको छ । यो कसुर प्रमाणित भएमा प्रमुख जिल्ला अधिकारीले आरोपीविरुद्ध एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय गराउन सक्छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा राउत र प्रहरी जवानबीच केही ‘वादविवाद’ भइरहेको सीसीटिभी फुटेजमा देखिन्छ । उक्त विवादपछि राउतले फेसबुकबाट प्रहरीमाथि आक्रोश पोखेपछि घटनाले ठूलो रुप लिएको हो ।

बिहीबार नै प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट राउत र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेज समेत झिकाएर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो ।

यता सामाजिक सञ्जालहरुमा गायिका आस्था राउतमाथि लिएको प्रहरी एक्सनको समेत आलोचना हुन थालेको छ । प्रहरी संगठनभित्रका कमजोरीहरुलाई सच्याउनुको सट्टा समस्या औंल्याउनेमाथि नै कार्वाही गर्न प्रहरी उद्दत देखिएकोे भन्दै आलोचना समेत हुन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७