पर्यटन बोर्डको सिइओ बन्ने दौडमा ९ उम्मेदवार, डा. रेग्मीको सम्भावना बलियो ?


५ माघ २०७६, आईतवार
Dhananjay Regmi NTB

काठमाडौं, ५ माघ :  मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि प्रतिस्पर्धी ९ जनाबाट अन्तिम छनोटको लागि तयारी गरिएको छ । बोर्डको सिइओका लागि प्रारम्भिक छनोटमा परेका नौ जनाको प्रस्तुतिकरण र अन्तर्वार्ता सकिए लगत्तै अन्तिम छनोटको तयारी गरिएको हो ।

स्रोतका अनुसार छनोट समितिले प्रतिस्पर्धीको प्रस्तुतिकरण र अन्तर्वार्तापछि नम्बर दिइसकेको छ । प्रतियोगिको नम्बर सिलिङ् पनि भएको छ । आइतबार बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव केदारबहादुर अधिकारीसँग छनोट समितिको बैठकबसी बोर्डको सिइओका लागि तीन सदस्यीय प्रतिस्पर्धीलाई सिफारिस गर्नेछ ।

निवर्तमान दिपकराज जोशीको कार्याकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा. धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो ।

बोर्डको सिइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सम्मितलित उपसिमित बनाइएको थियो । समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सिइओ नियुक्त गर्ने व्यवस्था छ ।

को बन्दैछन् नयाँ सिइओ ?
बोर्डमा सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । तर, कार्यकारी भने सिइओ हुन्छन् । बोर्डको सिइओको कार्यकाल चार वर्षको हुनेछ । प्रतिस्पर्धी उम्मेदवारमध्ये लामो समयदेखि पर्यटन क्षेत्रको अनुसन्धानमा क्रियाशिल डा. धनञ्जय रेग्मी, निवर्तमान सिइओ जोशी र हाल भ्रमणवर्ष सचिवालयमा सदस्य सचिव रहेका बच्चुनारायण श्रेष्ठको नाम अग्रपङ्तिमा रहेको स्रोतको दाबी छ ।

पछिल्लो समयमा सरकारले पर्यटन क्षेत्रका गहिरो अध्ययन र अनुसन्धान गरेर दिगो पर्यटन बिकास गर्ने लक्ष्य बनाएको छ । त्यस कारण पर्यटन अनुसन्धानको क्षेत्रमा विज्ञता आर्जन गरेका डा.रेग्मी सिइओको लागि सबैभन्दा बलियो दाबेदार मानिएको छ ।


को हुन् रेग्मी ?

सन् १९७५ स्याङ्जामा जन्मिएका डा. रेग्मी नेपालको पर्यटनलाई बिषय बनाएर लामो समयदेखि अनुसन्धानरत छन् । डा.रेग्मी नेपालका प्रख्यात हिमाली भूवैज्ञानिक र हिमनदी विज्ञ हुन् । उनले नेपालको सबैजसो हिमाल, हिमताल र हिमाली क्षेत्रहरुको बारेमा अनुसन्धान गरेका छन् । उनले ६ वर्ष कञ्चनजङ्घा क्षेत्रको वाताबरणीय अनुसन्धान गरेका छन् । डा.रेग्मीले सन् २००६ मा जापानको सापोरो स्थित होकाइदियो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ ्विषयमा विद्यावारिधि गरेका छन् । डा.रेग्मीले विद्यावारिधि भन्दा अगाडी बुढानिलकण्ठ उच्च माध्यमिक विद्यालयमा भुगोल विषयको शिक्षकको रुपमा र हिमालय मौसम केन्द्रमा सहायक अनुसन्धानकर्ताको रुपमा पनि काम गरिसकेका छन् ।

डा. रेग्मीले ‘सोपोरो कै नोडल’ भन्ने संस्थाको विश्वव्यापी भुपी परियोजना अन्तर्गत पोस्ट डक्टरेट अनुसन्धान फेलोको काम गरेका छन् । यस सँगसँगै उनीले अमेरिकाको अरिजोना विश्वविद्यालयबाट डेन्ड्रेक्रोनोलोजिकल विषयमा तिन महिने कोर्स पनि गरेका छन् । नेपालमा भने रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भुगोल समाजका अध्यक्षका रुपमा काम गरिरहेका छन् ।

डा. रेग्मीले सन् २००७ देखि सोसाइटी फर इकोलोजिकल रेस्टोरेशन नेपालका अध्यक्षको रुपमा मौसम परिवर्तन इकोलोजि रेस्टोरेशनका लागि काम गरेका छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष हुन् । यी दुवै संस्थाले हिमाली जनताको जनजिवन सुधार्ने काम गर्दछ ।

यसअघि रेग्मीले ‘इम्जा लेक लोअरीङ’ परियोजनामा प्राविधिक सल्लाहाकार र हिमनदी विज्ञका रुपमा काम गरिसकेका छन् जुन परियोजना सफल रुपमा सम्पन्न भएको थियो । त्यसपछि भने हाल उनि तालबाट हाइड्रोपावर उत्पादन गरेर तालको पानी घटाउने नयाँ प्रविधिहरुमा काम गरिरहेका छन् ।

डा. रेग्मी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट हुन् । पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यारनत छदा देखि उनले पृथ्वीनारायण क्याम्पसका तत्कालिन स्ववियु सभा रबिन्द्र अधिकारीसँग नजिकमा बसेर काम गरेका थिए ।

अहिलेसम्मको अध्ययन अनुसन्धान र अनुभवलाई मुलुकको पर्यटन बिकासमा प्रयोग गर्नका लागि आफूले आवेदन दिएको डा. रेग्मीको भनाई छ । नेपालमा दिगो पर्यटन बिकासको बारेमा आफूले अनेकौं अनुसन्धान गरेको भन्दै ती अनुभवलाई व्यवाहारमा प्रयोग गर्ने डा.रेग्मीको भनाई छ । पर्यटनलाई स्थानीय जनतासँग जोड्दै पर्यटनको दिगो बिकासमा काम गर्ने आफ्नो योजना रहेको उनको भनाई छ । पर्यटन क्षेत्रमा कनिका जस्तो बजेट वितरण नगरेर दिर्घकालसम्म महत्व राख्ने रणनीतिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन र बिकासमा आफ्नो ध्यान रहने उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७