सभामुखको उम्मेद्वार टुङ्गो लगाउन नेकपा सचिवालय बैठक शुरु


५ माघ २०७६, आईतवार
nekapa scaled

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाका रिक्त सभामुखमा पार्टीका तर्फबाट उम्मेद्वार चयन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न शुरु भएको छ ।

सभामुखको निर्वाचन कार्यतालिका र उम्मेद्वार चयनमा राजनीतिक सहमति नहुँदा गत पुस ११, १६ र २७ गतेका प्रतिनिधिसभाका बैठक स्थगन भई सोमबारका लागि तोकिएको छ ।

आजको सचिवालय बैठकअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सो विषयमा परामर्श भएको थियो । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन नेकपा सचिवालयको यसअघिको बैठकले आग्रह गरिसकेको थियो ।

गत पुस ४ गतेदेखि सङ्घीय संसद्को पाँचौं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक शुरु भए पनि नियमित रुपमा नचली स्थगन हुँदै आएको छ । संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

सत्तारूढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेकाले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । सभामुख र उपसभामुख फरक–फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि वालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले अग्नी सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने सहमति गरिसकेको छ । उनकै नामलाई सचिवालयले अनुमोदन गर्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७