रोहितको शतक, अस्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिज भारतको पोल्टामा


६ माघ २०७६, सोमबार
rohit

काठमाडौं, ६ माघ । अस्ट्रेलियाविरुद्धको एक दिवसीय क्रिकेटको सिरिज भारतले आफ्नो पोल्टामा पारेको छ ।

अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियाले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको भारतले तीन विकेट गुमाएर ४७ दशमलव ३ ओभरमा लक्ष्य भेट्टायो ।

पहिलो खेलमा पराजित भएको भारत दोस्रो र तेस्रो खेलमा जित हात पार्दै सिरिजको हकदार भएको हो । भारतका नियमित ओपनर शिखर धवन घाइते भएपछि उनको ठाउँमा केएल राहुल र रोहित शर्माले ओपनिङ गरेका थिए ।

राहुल र शर्माले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । राहुल १९ रन बनाएर आउट भए । त्यसपछि रोहित र कप्तान विराट कोहलीले एक सय ३७ रनको साझेदारी गरे । रोहितले एक सय १० बलमा शतक पूरा गरे । यो रोहितको एक दिवसीय क्रिकेटमा २९औँ शतक पनि हो ।

टिमको स्कोर दुई सय ६ रन हुँदा रोहित एक सय १९ रन बनाएर आउट भए । त्यसपछि कप्तान कोहली र श्रेयस अय्यरले ६८ रनको साझेदारी गर्दै जितनजिक पुगेका थिए । कोहली ४५ दशमलव ५ ओभरमा भारतको स्कोर दुई सय ७४ हुँदा ८९ रन बनाएर आउट भए ।

त्यसपछि अय्यर र मनिष पाण्डेले भारतलाई सात विकेटको जित दिलाए । अय्यर ४४ रनमा अविजित रहँदा पाण्डेले पनि अविजित आठ रन बनाए । अस्ट्रेलियाका जोस हेजलउड, एश्टन अगर र एडम जम्पाले एक–एक विकेट लिए ।

बेङ्ग्लोरमा टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेको थियो । अस्ट्रेलियाको सुरुवात भने राम्रो हुन सकेन । ’हार्ड–हिटर’ ओपनर ब्याट्सम्यान डेभिड वार्नर टिमको स्कोर १८ रन हुँदा आउट भए । उनी तीन रनमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका स्टेभन स्मिथ र आरोन फिन्चले पारी अघि बढाए ।

फिन्च पनि व्यक्तिगत १९ रन जोड्दै आउट भएपछि अस्ट्रेलियाले दोस्रो विकेट ४६ रनमा गुमाएको थियो । स्मिथ र मार्नस लाबुसेनले एक सय २७ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ्स उकासेका थिए ।

लाबुसेन अर्धशतक बनाउँदै आउट भए । उनले ५४ रनको योगदान गरे । त्यसलगत्तै मिचेल स्टार्कले खाता नै नखोलि आउट हुँदा अस्ट्रेलियाले चौथो विकेट गुमाएको थियो । स्मिथ र एलेक्स केरीले फेरि ५८ रनको साझेदारी गर्दै टिमको स्कोर दुई सय रन कटाए । एश्टन टर्नर ४ रन बनाएर आउट भएका थिए ।

त्यसपछि स्टेभन स्मिथ शतक बनाएर आउट भए । उनी एक सय ३१ रन बनाएर आउट हुँदा अस्ट्रेलियाको स्कोर ४७ दशमलव ४ ओभरमा दुई सय ७३ थियो । प्याट कुमिन्स खाता नै नखोलि आउट हुँदा एडम जम्पाले एक रन जोडे ।

यस्तै एश्टन अगर ११ र जोस हेजलउड १ रनमा अविजित रहे । भारतका मोहम्मद शमीले चार विकेट लिँदा रविन्द्र जडेजाले दुई विकेट हात पारे । रोहित शर्मा प्लेयर अफ् द म्याच बन्दा भारतीय कप्तान प्लेयर अफ् द सिरिज भएका छन् । यो खेलमा रोहितले एक दिवसीय क्रिकेटमा नौ हजार रन कटाउँदा कोहलीले पनि कप्तानको रुपमा पाँच हजार रन कटाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७