‘सफा र बुटिक’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


६ माघ २०७६, सोमबार
airport

काठमाडौं, ६ माघ । गत बिहीबार थाइल्याण्डबाट आएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेरे । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैंडामा उनको आँखा पुग्यो ।

‘बल्ल आफ्नै देश नेपाल आए जस्तो लाग्यो’, उनले भने । ‘किन ?’, सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोधे । उनको जवाफ थियो, ‘हाम्रो देश नेपाल र हाम्रो संस्कार र सम्पदा झल्किने मूर्ति र वस्तुहरु देखियो, आफ्नै देश आएको महसुस भयो ।’

‘आगमन कक्षको अगाडि राखिएको गैँडाको मूर्ति चितवनको सौराहा पार्कमा नै देखे जस्तो लाग्यो । अनि अलि परको गौतम बुद्धको मूर्तिले लुम्बिनी पुगे जस्तै भयो’, नेपाली यात्रु यसै भन्दै थिए, विदेशीहरु फोटो खिच्न खोज्दै थिए । भित्र आउँदै गर्दा कतै गरुडको मूर्ति छ भने भित्तामा नेपालको बहुजाति, बहुसंस्कृति र बहुधार्मिक परम्परा झल्किने विभिन्न प्रकारका मूर्ति र कलाकारिता देखिन्छन् ।

अर्का एक जना यात्रु भन्दै थिए, ‘मलाई त इन्डोनेशियाको बाली विमानस्थलको याद आयो । त्यहाँ पनि हिन्दू धर्मका साथै त्यहाँको बहुसांस्कृतिक अवस्थिति झल्किने विभिन्न मूर्ति तथा कलाकारिता राखिएका छन् ।’ इन्डोनेशियाको बाली प्रान्तमा कम्तीमा ८० प्रतिशत हिन्दू धर्मावलम्बी नागरिकको बस्ती छ । त्यहाँको विमानस्थलमा पनि स्थानीय परम्परा र सम्पदाहरु झल्किने दृष्यहरु सजाइएको छ ।

नेपालका केही प्रमुख पर्यटकीयस्थलको पहिचान दिनेगरी अरु केही तस्बिर विमानस्थलमा राखिएका छन् । यहाँका तस्बिरले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित नेपालको हिमालय क्षेत्रको सम्पन्नताको परिचय दिन्छ । त्यस्तै यहाँका दृष्य र तस्बिरहरुले पोखरा, मुस्ताङ र यस्तै अन्य विश्वकै प्रमुख पर्यटन गन्तव्यको पनि यहाँबाट सामान्य परिचय दिने यत्न गरेका छन् ।

केही समयअघि नेपाल सरकारले घोषणा गरेको थियो ‘बुटिक एयरपोर्ट’ को अवधारणा । यही अवधारणा बमोजिम नै विमानस्थल प्रशासनले पनि यस्तो बुटिक विशेषताको प्रयास गरिरहेको छ । कुनै पनि विदेशी नागरिक नेपाल छिरेपछि यहाँको विविधताको बारेमा प्रवेशद्वारबाटै थाहा पाओस् भन्ने प्रयत्न रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण ।

नेपालले यस वर्ष नेपाल भ्रमण वर्ष मनाइरहेकोले नेपाल आउने पर्यटकलाई नेपालबारेको जानकारी जति सकिन्छ प्रवेशद्वारबाटै प्रदान गरौँ भन्ने प्रयास गरिएको उनले बताए । विमानस्थललाई बुटिक बनाउने मात्र नभई यहाँको सरसफाइ, सुरक्षा, सहयोग, यात्रुहरुलाई आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण र विकास तथा सूचना जस्ता कार्यका लागि विमानस्थल प्रशासनले सक्दो प्रयास गरेको उनले जानकारी दिए ।

विमानस्थलको आगमन कक्षमा सुनको जलप हालिएको ११ फिट अग्लो र करिब एक टन तौल भएको बुद्ध मूर्ति राखिएको छ । त्यस्तै गरुड र अन्य देवी देवताका मूर्ति छन् । गैंडाको मूर्ति सौराहाको झलक नै दिनेगरी पार्क बनाएर राखिएको छ । यी संरचना विदेशी पर्यटकका लागि आकर्षण बनेका छन् ।

विमानस्थलको अर्काे आकर्षण सरसफाइ पनि हो । यहाँको सरसफाइका लागि विमानस्थलले इनोभेटिभ एचआर जेभीलाई जिम्मा दिएको छ । उसले दुई वर्षभन्दा अघिदेखि विमानस्थलको सरसफाइको काम गरिरहेको छ ।

करिब डेढ वर्ष अघि गैरआवासीय नेपाली सङ्घको सहयोगमा खेम्स क्लिनिङले स्वयंसेवीरूपमा केही समय विमानस्थल सफाइ गरेर चर्चा पाएको थियो । त्यस समय पनि विमानस्थलको सफाइमा इनोभेटिभले सफाइ मजदूर र काममा सहयोग गरेको थियो ।

butik airport
आगमन कक्षमा बुद्धको मूर्ति …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा राखिएको बुद्धको मूर्ति । तस्वीर : रासस

उक्त कम्पनीले विदेशी प्रविधि र मापदण्डको आधारमा सफाइको काम गर्दै आएको सोलुसनका प्रमुख रोहिणी भट्टराई बताउँछिन् । ‘हामीले सफाइ कर्मचारीहरुलाई समय समयमा विदेशी मापदण्ड र प्रविधिको तालिम दिई त्यस्तै उपकरणका साथ काम गरिरहेका छौं, हर समय सफाइको गुणस्तर बढाउँदै लगेका छौं’, उनको भनाइ छ ।

हाल सफाइका लागि उक्त कम्पनीका १६० कर्मचारी खटिरहेका छन् र ‘सिफ्ट’ अनुसार चौबीसै घण्टा काम गर्ने गर्छन् । ‘कुनै पनि विदेशीले नेपाल टेक्ने पहिलो पाइला भनेको विमानस्थल नै हो । त्यसैले प्रवेशद्वारबाट नै विदेशीहरुमा हाम्रो देशप्रतिको राम्रो छाप परोस् भनेर हामी आफैँ काममा खटिएका छौँ र हामीले पाइरहेको सफलता र प्रशंसालाई घट्न दिएका छैनौं’, उनी भन्छन् ।

बुटिकका रूपमा गरिएको विमानस्थलको विकास र सरसफाइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यतिबेला स्वरूप फेरिएको छ । भुइँ, चर्पी, स्नानकक्ष, भित्ताहरु र कुर्सी सफा छन्, सफाइलाई विशेष ध्यान दिइएको छ ।

विमानस्थलको सफाइमा खटिरहेका कर्मचारी सफाइसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रविधि र मापदण्ड प्रयोग गरिएको भन्दै हाल उपलब्ध प्रविधि र जनशक्तिले विमानस्थलको अवस्था राम्रो राख्न सफल भएको बताउँछन् ।

Airport 2

नेपाल आउने पर्यटकको पहिलो दृष्टि यहाँको सरसफाइमा पर्छ, देशको मुख्य प्रवेशद्वार विमानस्थल सफा भए मात्र अन्तर्राष्ट्रियरूपमा देशको छवि सुन्दर र राम्रो बन्नेछ । त्यसैले विमानस्थलमात्र होइन कि पर्यटन वर्ष मनाइरहेका हामीले होटल, पार्क, पर्यटकीय स्थल तथा अन्य पूर्वाधार र संरचनाहरुलाई पनि सफा र सुन्दर बनाउनु र राख्नु जरुरी छ ।

नेपालले यस वर्ष कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्याका साथ नेपाल भ्रमण वर्ष मनाइरहेको छ । यसका लागि आवश्यक सेवा क्षेत्रको पूर्वाधार र अन्यत्र सरकारले सकेसम्म संरचना निर्माण गरिरहेको छ । त्यसैले अहिले नै विमानस्थलको जस्तै बुटिक र सफाइको अवधारणालाई पनि सबैतिर विस्तार गर्न सके पर्यटन वर्ष मनाइरहेको पर्यटन क्षेत्रले केही नयाँ उपलब्धि हासिल गर्नेछ ।

अर्काे महत्वपूर्ण पक्ष भनेको सुरक्षाको प्रबन्ध पनि भएकाले यसलाई विमानस्थलले नयाँ व्यवस्थाका साथ अघि बढाएको प्रवक्ता कर्ण बताउँछन् । सुरक्षामा कडाइ तथा यात्रुको सुविधालाई समेत ध्यानमा राखी सुरक्षा जाँचमा नयाँ व्यवस्था गरेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७