पुरुष साथीलाई कुटपिट गरी २४ वर्षीया युवतीमाथि सामुहिक बलात्कार


प्रकाशित मिति : 20 January, 2020 5:24 pm

नयाँदिल्ली, ६ माघ । एक पशु डाक्टर महिलामाथि भएको सामुहिक बलात्कारको चर्चा सेलाउन नपाउँदै भारतमा फेरि एक २४ वर्षीया युवती सामुहिक बलात्कारको शिकार बनेकी छन् ।

तमिलनाडुको भेलोर जिल्लास्थित तीन जनाको समूहले युवतीलाई चक्कु प्रहार गर्ने धम्की दिंदै बलात्कार गरेको घटना सार्वजनिक भएको छ । निर्भया बलात्कारका दोषीलाई मृत्युदण्डको सजाय सुनाएको महिना दिन पुग्न नपाउँदै फेरि अर्को बलात्कारको घटना दोहोरिएको हो ।

भारतीय मिडियाका अनुसार सार्वजनिक पार्कमै ती युवतीको साथमा रहेका पुरुष साथीलाई कुटपिट गरी लखेटिएको थियो । स्थानीय समय अनुसार शनिबार राति सबा ९ बजे यस्तो घटना भएको भेलोर प्रहरीले जनाएको छ ।

तीन जनाको समूहबाट खोस्ने प्रयास गरेका युवाकलाई भने उनीहरुले कुटपिट गरी लखेटेका थिए । बलात्कारपछि युवतीको सेल फोन र गहना समेत चोरेर लगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘जब युवती घर पुगिन् उनले कुटपिटसँगै मोबाइल र गहना चोरिएको भनेर आफ्ना भाइलाई सुनाइन् ।

तर उनले बलात्कारको कुरा भनिनन् । उनीहरु शुरुमा उपचारका लागि अस्पताल पुगे । त्यहाँ उनले के भएको भनेर डाक्टरलाई भन्नैपर्ने भयो । त्यसपछि तुरुन्तै उनीहरु प्रहरी स्टेशनमा पुगे,’ अनुसन्धान अधिकृतले भने ।

प्रहरीका अनुसार उक्त घटना ‘भेलोर फोर्ट’ नजिकै भएको थियो । पीडितका अनुसार बलात्कारमा संलग्न तीन जनामध्ये एक जना ३ देखि ४५ वर्ष उमेर र अरु दुई २० वर्ष जतिका थिए । पछिल्लो समय भारतमा बढ्दो बलात्कारका घटनाले महिलाहरु असुरक्षित बन्दै गएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्