थपिंदै सैनिक सहचारी


७ माघ २०७६, मंगलवार
army

काठमाडौं, ७ माघ । नेपाली सेनाले विदेशस्थित कूटनीतिक नियोगमा सैनिक सहचारी र सल्लाहकार थप गर्न सरकार समक्ष प्रस्ताव गरेको छ ।

सेनाले भारत, चीन, पाकिस्तान, बंगलादेश, बेलायत र अमेरिका गरी ६ मुलुकमा सैनिक सहचारी र राष्ट्रसंघमा सुरक्षा सल्लाहकार राखेको छ । सेनाले रक्षा मन्त्रालयमार्फत थप पाँच स्थानमा सैन्य सहचारी तत्काल आवश्यक रहेको र मुलुकको कूटनीति समन्वयमा पनि मद्दत पुग्ने भन्दै माग गरेको हो ।

राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रमध्ये फ्रान्स र रसियामा नेपालको सैन्य सहचारी नभएकाले त्यहाँ तत्काल थप गर्नुपर्ने माग सेनाको छ । रसियामा पहिले सैनिक सहचारी थियो तर पछि काटिएको भन्दै थप्न आवश्यक रहेको सेनाको प्रस्ताव छ ।

युरोपेली महासंघ (ईयू) को मुख्यालय रहेको ब्रसेल्स र अफ्रिका हेर्न दक्षिण अफ्रिका वा इजिप्टमध्ये एक मुलुकमा सैन्य सहचारी आवश्यक रहेको पनि सेनाको जिकिर छ । सैन्य अभ्यास गर्ने मुलुकमध्ये श्रीलंकामा पनि नेपालको सैनिक सहचारी चाहिने तर्क नेपाली सेनाको छ ।

‘शान्ति मिसनलाई प्रभावकारी बनाउन र समन्वय गन श्रीलंकाबाहेक अन्यत्र माग गरिएको स्थानमा सैनिक सहचारी अत्यावश्यक हो’, सैन्य उच्च स्रोतले भन्यो, ‘लामो अध्ययन र आवश्यकता महसुसपछि प्रभावकारी कूटनीतिका लागि सहयोगी रहन पनि सेनाको उपस्थिति मिसनमा आवश्यक छ ।’

नेपाली सेना कूटनीतिको एक पाटो समेत रहेकाले पनि त्यसमा सरकारले ध्यान दिएर सहकार्य थप अघि बढाउन यस्ता कार्यमा लाग्नुपर्ने बताइएको छ । कुनै कार्यक्रम गर्दा सैन्य सहचारी भएको दूतावास र अन्यमा फरक देखिने भन्दै कूटनीतिमा सामान्य कुराको पनि ठूलो अर्थ राख्ने भएकाले सहचारी बढाउनुपर्ने तर्क सेनाको छ । श्रीलंकासँग भने संयुक्त सैन्य अभ्यास र सहकार्य अघि बढ्न लागेकाले त्यहाँ पनि सैन्य अधिकारी राख्न प्रस्ताव गरिएको छ।

सेनाको तर्कमा रक्षा मन्त्रालय सहमत देखिए पनि यो विषय बाहिर ल्याएको छैन। मन्त्रालयले नै सेनाको प्रस्तावलाई अघि बढाएको अधिकारीको भनाइ छ । सेनाको अधिकतम काम फ्रान्सेली भाषा बोलिने मुलुक (फ्रान्को फोनिक) मा भएका कारण पनि तत्काल फ्रान्समा सैनिक सहचारी राखेर त्यहाँबाट समन्वय गर्नुपर्ने भनिएको छ ।

अफ्रिकी मुलुकमा पनि सहचारी राखेर समग्र अफ्रिकालाई समन्वय गर्ने कार्य अपरिहार्य रहेको पनि खुलाइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अगुवाइमा नै कूटनीतिलाई थप व्यवस्थित गर्न भन्दै परराष्ट्र मन्त्रालयको समन्वयमा यस्तो कार्य अघि बढाएको रक्षा अधिकारीले दाबी गरे । गोलन हाइटमा फोर्स कमान्डर भएर अन्तर्राष्ट्रिय सेनाको नेतृत्व गरेका हुनाले उनले सबै परिस्थिति बुझेरै ती स्थान तोकेको हुन सक्ने परराष्ट्र अधिकारीको तर्क छ ।

रक्षासचिव रश्मीराज पाण्डेले पुरानो स्थानलाई नचलाइएको र नयाँ स्थानको बारेमा छलफल भइरहेको होला भन्दै थप बताएनन् । पुराना स्थानमा आवश्यक सेवासुविधा र कर्मचारी थप भएको जानकारी दिँदै उनले भने, ‘कतिपय विषय छलफलमै होलान्, केही भयो भने भनौंला । प्रस्ताव गरेको विषय भए स्वीकृत भएपछि बाहिर आइहाल्छ नि ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७