मेडिकल काउन्सिलको निष्कर्ष : ‘बालिका मृत्युमा चिकित्सकको कमजोरी देखिएन’


७ माघ २०७६, मंगलवार
medical councial

काठमाडौं, ७ माघ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहको मृत्यु हुनुमा चिकित्सकको नभई अस्पताल व्यवस्थापनको कमजोरी देखिएको नेपाल मेडिकल काउन्सिलले निष्कर्ष निकालेको छ ।

साहको वैशाख १७ गते शल्यक्रिया हुँदा गलत समूहको रगत चढाएको पाँच दिनपछि मृत्यु भएको थियो । ‘ओ पोजेटिभ’ रगत भएकी बालिकालाई शल्यक्रियाका क्रममा ‘ए पोजेटिभ’ रगत चढाउँदा मृत्यु भएपछि त्यसको मेडिकल काउन्सिलले छानबिन गरेको थियो ।

‘बालिकाको शल्यक्रिया गर्नुअघि अस्पतालले व्यवस्था गर्नुपर्ने चेकलिस्ट समेत थिएन । ल्याबमा बस्नेले तयार गरेको विवरणकै आधारमा बालिकालाई रगत चढाइएको छ । सबैले ल्याबले दिने रिपोर्टलाई विश्वास गरेको देखिन्छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले भने, ‘बालिकाको मृत्यु हुनुमा चिकित्सकको कमजोरी देखिएन ।

अस्पताल व्यवस्थापनको कमजोरीले बालिकाको मृत्यु भएको पाइयो ।’ शल्यक्रिया गर्ने चिकित्सकको कमजोरी नभए पनि नैतिक जिम्मेवारी भने लिनुपर्ने भन्दै सचेतपत्र दिइएको उनले बताए । काउन्सिलले तयार पारेको प्रतिवेदनमाथि विज्ञ चिकित्सक संयोजक रहेको समितिमा समेत छलफल भइरहेको रजिस्ट्रार अधिकारीले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७