राष्ट्रियसभा निर्वाचन बिहीबार, मौन अवधि जारी

परिचयपत्र देखाएर समेत मतदान


७ माघ २०७६, मंगलवार
Election ayoge 1

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ ।

प्रदेशसभा सदस्य वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुखको प्रमाणको यकिन गर्न निर्वा्चित भएको प्रमाणपत्र र यसअघिका निर्वाचनमा प्रयोग भएको मतदाता परिचयपत्र लिएर मतदानका लागि आउन आयोगले मतदातालाई सूचित गरेको छ ।

आयोगका सहसचिव राजकुमार श्रेष्ठद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, प्रमाणपत्र हराए वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था हुनेछ ।

आयोगले त्यसका लागि आवश्यक व्यवस्थापन मिलाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । उक्त निर्वाचनका सन्दर्भमा सोमबार राति १२ बजेबाट मौन अवधि शुरु भएको छ ।

यस निर्वाचनबाट ५९ सदस्यीय स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा १८ जना नयाँ सदस्यको चयन हुने छ । १९ सदस्यको आगामी फागुन २० गते दुईवर्षे कार्यकाल पूरा हुँदैछ । उनीहरुको कार्यकाल पूरा हुनु ३५ दिनअघि नै नयाँ सदस्यका लागि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । रिक्त हुने एक जना सदस्यको भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७