अब संगीत सुन्दै शौच !


७ माघ २०७६, मंगलवार
toilet

बाँके, ७ माघ । तपाई नेपालगञ्जवासी हुनुहुन्छ या यहाँको पाहुना । यदि तपाई नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै संगीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ ।
सो शौचालयको जमीनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त छ । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिनेछ ।

डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको छ । अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिले शौच गर्न सक्नेछन् ।

पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका खुल्दैन । शौचालय प्रयोगमा आए–नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्छ । शौचालयभित्र शौच गर्दा स्वचालित रूपमा संगीत बज्छ । जो–कोहीले संगीत सुन्दै शौच गर्न पाउने छन् । शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र साबुन छ, जुन स्वचालित छ ।

शौच गर्न गएको व्यक्तिले साबुन संकेत रहेको तल हात लिएमा तरल अवस्थाको साबुन हातमा झर्छ, सँगै रहेको पानी सङ्केत देखाएको तल हात लग्दा पानी झर्छ । जहाँ हात धुन सकिन्छ । नेपालगञ्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय निर्माण गरिएको छ । जहाँ संगीतको आनन्द लिंदै आराम साथ शौच गर्न पाउने व्यवस्था छ ।

एकै पटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनु मात्रै उपलब्धि नभएकाले यसको सही सुदपयोगमा जोड दिए ।

उनले शौचालयलाई सफा राख्नु आफैंमा चुनौतीपूर्ण कार्य भएको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनीयर प्रकाश डिसीका अनुसार एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत रु ४६ लाख ३६ हजारको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो ।

नेदरल्याण्ड्स विकास नियोगले यसअघि नै चार बाहिनीचोक र मासुमण्डी नजिक रु ८१ लाख १६ हजार लागतमा दुई सुलभ शौचालय निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । योसँगै नेपालगञ्ज बजारभित्र एक दर्जन सार्वजनिक शौचालय पुगेका छन् । त्यसमा पछिल्लोपटक बनेका शौचालय अत्याधुनिक छन् ।

बजारमा निस्किने यात्रु र पसलेलाई समेत दिसा, पिसाब लाग्दा समस्या हुने गरेको भन्दै गुनासो बढिरहेका बेला नेपालगञ्जमा अत्याधुनिक शौचालय बनिरहेका छन् । शौचालय सञ्चालनमा आएसँगै यसलाई उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने वा ठेक्कामा दिने भन्नेबारे निर्णय भइनसकेको वातावरण इञ्जिनीयर डिसीले बताए । यसअघि उपमहानगरपालिकाले तीन घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७