आस्थासँग प्रहरीको ‘प्रतिशोध’


८ माघ २०७६, बुधबार
aastha raut

काठमाडौं, ८ माघ । सुरक्षा चेकजाँचका क्रममा प्रहरी र सर्वसाधारणबीच प्रायः विवाद भइरहन्छन् ।
अझ विमानस्थलमा त यस्ता घटना पटक–पटक हुने गरेको छ ।

गत १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच पनि सामान्य विवाद भयो । विवाद तत्कालका लागि भनाभनमा गएर टुंगियो । त्यही विषयलाई लिएर पछि गायिका राउतले प्रहरीप्रति आक्रोश पोख्दै आफूलाई अभद्र व्यवहार गरेको भन्दै गाली गरेर भिडियो फेसबुकमा राखेपछि विवाद फेरि सुरु भयो ।

आस्थाको भिडियोले प्रहरी संगठनमा आँच पुगेको भन्दै प्रहरीले पनि विमानस्थलमा उनले महिला प्रहरीसँग झगडा गरेको सिसिटिभी फुटेज सार्वजनिक गरिदियो । त्यसअघि नै आस्थाले गल्ती महसुस गर्दै फेसबुकमा बोलेका कुराप्रति माफी मागिसकेकी थिइन् ।

तर, प्रहरी यतिवेला उनलाई जसरी नै पक्राउ गर्न अग्रसर देखिएको छ । प्रहरी जवान श्रेष्ठलाई उजुरी दिन लगाएर अभद्र व्यवहारसम्बन्धी मुद्दामा आस्थाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरिएको छ । सामान्य विवादमा प्रहरी गायिका राउतविरुद्ध प्रतिशोधमा उत्रिएको भन्दै प्रहरी कदमको आलोचना हुन थालेको छ ।

चेकिङका क्रममा भएको दुव्र्यवहारभन्दा पनि फेसबुकमा प्रहरीलाई गाली गरेको विषयलाई लिएर प्रहरी उनीमाथि मुद्दा चलाउन लागिपरेको छ । सोही कारण प्रहरीको कदमको आलोचना भएको हो ।

धेरैले प्रहरीको यस्तो कदम गलत भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । खासगरी, कलाकारहरू प्रहरीको कदमको विरोध गरिरहेका छन् । पूर्व प्रहरी अधिकारीहरू समेत यस्तो विवादलाई मुद्दा चलाउनुपर्ने अवस्था नभएको बताउँछन् ।

महिला प्रहरीको जाहेरीमा आफूलाई अपशब्द बोलेको र पछि फेसबुकमा भिडियो राखेर गाली गरेको उल्लेख छ । मुद्दा चलाउनुपर्ने नै दुव्र्यवहार हो र ? भन्ने प्रश्नमा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘ड्युटीमा खटिने महिला प्रहरीलाई उनको व्यवहारले कति असर परेको होला ?

जाहेरी आएपछि हामीले कारबाही नगर्न मिल्दैन, यो सबैभन्दा न्यूनतम कारबाही हो । प्रहरीमाथि हुने दुव्र्यवहारको सांकेतिक कारबाही हो ।’

ड्युटीमा खटिने प्रहरीको मनोबल बढाउन यस्तो कारबाही गर्न लागेको प्रहरी अधिकारीहरूको दाबी छ । तर, यो घटनामा प्रहरीको समेत गल्ती देखिन्छ । उनले गायिका राउतको झोलामा कफीको ग्लास हालिदिन खोज्छिन् । उनले पनि गाली गरेको देखिन्छ । सुरुमै आफूलाई तँ भनेर रुखो व्यवहार गरेको गायिका राउतको भनाइ छ ।

गायिका राउत यतिवेला सिक्किममा छिन् । नेपाल आएपछि उनलाई नियन्त्रणमा लिई बयान गराएर मुद्दा चलाउने प्रहरीको तयारी छ । यस्तो मुद्दामा एक वर्षसम्म कैद सजाय हुने गरेको छ । तर, सामान्यतया आरोपीहरू न्यूनतम धरौटीमा छुट्ने गर्दछन् । प्रहरीमा जाहेरी दर्ता भए पनि सरकारी वकिलले मुद्दा नचलाउने निर्णय समेत गर्न सक्छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेललाई यो विषय फौजदारी मुद्दा चलाउनैपर्ने खालको विषय लाग्दैन । ‘मैले पनि एयरपोर्टको सिसिटिभी भिडियो हेरें,’ आयोगमा प्रहरीसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी समेत पाएका पौडेलले भने, ‘त्यो हेर्दा प्रहरी र गायिका दुवैको गल्ती देखिन्छ । त्यसकारण, त्यतिकै आधारमा आपराधिक मुद्दा चलाउनु गलत हो ।’

विमानस्थलमा भएको के थियो ?
विमानस्थलको चेकिङका क्रममा ज्याकेट खोल्ने विषयलाई लिएर गायिका राउत र प्रहरी जवान श्रेष्ठबीच विवाद सुरु भएको थियो । सुरुमा उनी नियमविपरीत हातमा कफीको ग्लास लिएर चेकिङमा प्रवेश गर्छिन् ।

प्रहरी जवानले उनको हातको कफी लिएर छेउको टेबुलमा राख्दै ज्याकेट खोल्नैपर्ने बताएपछि राउत रिसाएर ज्याकेट खोली एक्सरेमा राखेर आएर बडी सर्च गराउँछिन् । जवानले उनको कफी फिर्ता दिन खोज्दा उनले लिन मान्दिनन् । उल्टै प्रहरीसँग मुखामुख गर्छिन् । महिला प्रहरीले उनको झोलामा जबरजस्ती कफी राखिदिन खोज्दा पोखिन्छ । त्यसपछि दुवैबीच भनाभन हुन्छ ।

यही घटनालाई लिएर गायिका राउतले फेसबुकमा प्रहरीलाई गाली गर्दै भिडियो राखेपछि विवादमा परेकी हुन् । विमानस्थलमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दा पनि फेसबुकमा गाली गरेको कारण प्रहरीले उनलाई कारबाही गर्न खोजेको देखिन्छ ।

महिला प्रहरीलाई दुव्र्यवहार गरेका कारण मुद्दा चलाउन लागेको भए त्यहीवेला प्रहरीले उनलाई नियन्त्रणमा लिन सक्थ्यो । त्यतिवेला प्रहरीले कुनै मतलब गरेको देखिन्न । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७