जिल्याइए उखु किसान, पाएनन् भुक्तानी अझै


८ माघ २०७६, बुधबार
ukhu kisan scaled

काठमाडौं, ८ माघ । चिनी मिलले सम्झौता पालना गरेका भए मंगलबार (माघ ७) भित्र उखु किसानले पुरानो बाँकी सबै भुक्तानी पाउनुपथ्र्यो । सरकारले दिलाएको विश्वासपछि त्यही आसमा उनीहरू आन्दोलन त्यागेर पुस १८ मा जिल्ला फर्किएका थिए । तर, गरिब किसान फेरि जिल्याइए ।

आठ चिनी उद्योगले किसानलाई १ अर्ब २ करोड रुपैयाँ दिन बाँकी छ । आफैंले तोकेको म्यादमा जम्मा ३ उद्योगले १६ करोड १४ लाख रुपैयाँ मात्रै उपलब्ध गराएको उद्योग विभागले जनाएको छ ।

‘हामीले जति प्रयास गरे पनि उद्योगीहरू अटेर गरी सम्पर्कमै आउन मानेनन्’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘चिनी उद्योगबाट अझै १ अर्बभन्दा बढी रकम भुक्तान हुन बाँकी छ ।’ अटेरी उद्योगीविरुद्ध कस्तो कारबाही गर्ने भनेर मन्त्रालय छलफलमा जुटेको छ । यसै साता मन्त्रालयका तर्फबाट कठोर नीति अवलम्बन गर्ने संकेत स्रोतले गरेको छ ।

उद्योगमन्त्री लेखराज भट्टको रोहवरमा उखु किसान संघर्ष समिति र मन्त्रालयका तर्फबाट सहसचिव दिनेश भट्टराईबीच उक्त सम्झौता भएको थियो । मन्त्रालयले उद्योगीबाट १८ दिनभित्र सम्पूर्ण बक्यौता रकम किसानलाई उपलब्ध गराउने वाचा गरेको थियो ।

विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार महालक्ष्मी सुगर मिलले २१ करोड ४० लाखमध्ये ११ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । उक्त मिलले ९ करोड ९० लाख बक्यौता तिर्न बाँकी छ । ‘भुक्तानी गर्नुपर्ने समयसीमा तोकिए पनि मंगलबार भने कुनै उद्योगी सम्पर्कमा आएनन्’, उनले भने ।

अन्नपूर्ण सुगर मिलले ४२ करोड रुपैयाँमध्ये ३ करोड ९० लाख किसानलाई भुक्तानी गरेको जानकारी विभागमा आएको छ । उसले अब ३८ करोड १० लाख तिर्न बाँकी छ ।

श्रीराम सुगर मिलले पुरानो सबै गरी २६ करोड ७७ लाख ७८ हजार भुक्तानी गर्न बाँकी छ । इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको र १० करोड ४८ लाख चुक्ता गर्न बाँकी छ । श्रीराम सुगरले म्यादभित्र एक पैसा पनि भुक्तान नगरेको महानिर्देशक सिटौलाले बताए ।

बागमती खाँडसारी सुगर उद्योगले ८ करोड ५० लाख, महाकालीले ६२ हजार, लुम्बिनीले ८ करोड, बाबा वैजनाथले २५ लाख ५६ हजार र इन्दिरा सुगर मिलले १० करोड ४८ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७