नेकपा सदस्यता नवीकरण तीन महिनाभित्र गर्नुपर्ने, आफै उपस्थित हुनुपर्ने


८ माघ २०७६, बुधबार
nekapa 20200122010014

काठमाडौं, ८ माघ । आगामी ०७७ चैत मसान्तभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा गरेको सत्तारुढ दल नेकपाले संगठित सदस्यता नवीकरण र अभिलेखीकरणका लागि तीन महिने कार्यविधि तय गरेको छ ।

केन्द्रीय संगठन विभागले बनाएको कार्यविधिलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयन गर्न पठाएको नेकपाले जनाएको छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको हस्ताक्षरपछि पार्टीले ‘विशेष परिपत्र ७’ मार्फत् कार्यविधि पार्टी पंक्तिमा पठाएको छ । केन्द्रीय कार्यालयसँग संगठित सदस्यको आधिकारिक अभिलेख छैन । साबिक एमाले र माओवादी केन्द्रको एकतायता नेकपाले संगठित सदस्यता नवीकरण गर्न सकेको छैन ।

अब उसले तत्कालीन एमाले र माओवादीमध्ये साबिक कुन पार्टीको संगठित सदस्य रहेको पहिचानसमेत खुल्ने अभिलेख राख्ने भएको छ । एकताको अघिल्लो दिन (०७५ जेठ २ गते) सम्मको साबिक दुवै पार्टीका सदस्यलाई सदस्यता नवीकरण गर्न उसले तीन महिना समय तोकेको छ ।

अभिलेख सम्बन्धित भूगोलका प्रदेश र विशेष प्रदेश कमिटीले जिल्ला, गाउँ, नगर कमिटीलाई माघ मसान्तसम्म उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ । ओली–दाहालले गरेको सर्कुलरमा भनिएको छ, ‘०७५ जेठ २ सम्म कायम पार्टी सदस्यलाई संगठित सदस्य मानी ०७६ चैत मसान्तभित्र संगठित सदस्यता नवीकरण गरिसक्नुपर्ने छ ।’

नवीकरण गराउन कार्यदल

नेकपाले गाउँ तहसम्मै सदस्यता नवीकरण गर्न कार्यदल बनाएर खटाउने भएको छ । गाउँपालिकामा केन्द्र रहेको ठाउँमा र नगरपालिकामा वडाको केन्द्र रहेको ठाउँमा सम्पर्क कार्यालय राखी कार्यदलले सदस्यको अभिलेख राख्ने र नवीकरणका लागि आवश्यक कागजात जुटाउने आन्तरिक सर्कुलरमा उल्लेख छ ।

गाउँपालिका र नगरपालिकामा जाने कार्यदल जिल्ला कमिटीको सचिवालय सदस्यको संयोजकत्वमा ५ सदस्यीय हुने । विशेष कमिटीमा रहेकाहरूको हकमा कमिटीले तोकेको स्थानमा विशेष जिल्ला कमिटीको सचिवालय सदस्यकै संयोजकत्वको ५ सदस्यीय कार्यदल परिचालन गर्ने तयारी नेकपाको छ ।

आफैं उपस्थित हुनुपर्ने

सदस्यता नवीकरणका लागि गएका कार्यदल सदस्य भएको ठाउँमा सदस्य आफैं उपस्थित भएर आवश्यक कागजात बुझाउनुपर्नेछ । उनीहरूले सदस्यता शुल्क तिरेको रसिद निवेदनसहित सदस्य स्वयं उपस्थित हुनुपर्ने परिपत्रमा उल्लेख छ ।

नवीकरणका लागि जाने कार्यदलले केन्द्रीय संगठन विभागले दिएको विवरणमा नामावली समावेश भएको संगठित सदस्यको निवेदन मात्र दर्ता गर्ने र निवेदकमध्ये योग्य ठहरिएकाको सदस्यता नवीकरण गर्न प्रस्ताव तयार पार्ने र जिल्ला कमिटीरविशेष कमिटीले त्यसका आधारमा संगठित सदस्यता नवीकरण निर्णय गर्ने कार्यविधि बनाइएको छ ।

केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, कम्युनिस्ट ज्येष्ठ मञ्च, केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालयका पदाधिकारी तथा सदस्यहरूको सदस्यता नवीकरण भने केन्द्रकै संगठन विभागको कार्यालयले गर्नेछ । नवीकरण गरेका संगठित सदस्यको अभिलेखको छापा प्रति र डिजिटल प्रति तयार गर्ने र उनीहरूलाई सदस्यता नम्बर उपलब्ध गराउने योजना पनि नेकपाको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७