सहिद शुक्रराज ट्रपिकल अस्पतालमा २२ वर्षमा २२ निर्देशक

‘कमजोर व्यवस्थापनले बिरामी आउनै छाडे’


८ माघ २०७६, बुधबार
teku hospital2020 01 22 07 40 59


काठमाडौं, ८ माघ । ०१११३ संकेत नम्बरकी ५१ वर्षीया महिला एक सातादेखि सहिद शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचाररत छिन् ।

ज्वरो आउने, निरन्तर खोकी लाग्ने समस्या देखिएपछि उनी सुरुमा विराटनगरस्थित नोबेल मेडिकल कलेज भर्ना भइन् । स्वास्थ्य परीक्षणका क्रममा उनलाई जापानिज इन्सेफ्लाइटिस भएको पुष्टि भयो । अस्पतालले उनलाई आइसियू आवश्यक पर्ने भन्दै टेकुस्थित सरुवा रोग अस्पताल रिफर गर्‍यो ।

हेटौंडाका ७१ वर्षीया पुरुष (संकेत नम्बर ०१११४) लाई क्षयरोग (टिबी) को समस्या थियो । उपचारका लागि उनी सुरुमा हेटौंडा अस्पताल पुगे । एक साता सोही हेटौंडा अस्पतालमा स्वास्थ्य उपचार गराए, तर कम नभएपछि अस्पतालले उनलाई आइसियू आवश्यक पर्ने भन्दै टेकु अस्पताल रिफर गर्‍यो । उनी हाल टेकुस्थित सरुवा रोग अस्पतालमा उपचाररत छन् ।

माथिका यी घटना प्रतिनिधि उदाहरण मात्रै हुन् । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल अस्पतालमा आइपुग्ने अधिकांश बिरामी पहिला निजी अस्पताल पुगेका हुन्छन् । निजी अस्पतालमा उपचार सम्भव नभएपछि मात्रै उनीहरू टेकु अस्पताल आइपुग्छन् । बिरामीलाई सुरुमै टेकु अस्पताल आउने वातावरण बनाउन अस्पताल प्रशासन चुकेको छ ।

देशको एक मात्र सरुवा रोग अस्पताल सहिद शुक्रराज ट्रपिकल अस्पताल अस्थिर व्यवस्थापनाका कारण अस्तव्यस्त बनेको छ । अस्पतालको नेतृत्वमा हरेक वर्षजसो नयाँ व्यक्ति आउँदा दीर्घकालीन सोच र योजनाअनुसार काम नहुँदा अस्तव्यस्त बनेको हो ।

अस्पतालको रेकर्डअनुसार ०५३ सालदेखि यताको २२ वर्षमा २२ निर्देशक फेरिएका छन् । ०५३ सालयताका हरेकजसो निर्देशकले जागिर खानेदेखिबाहेक अस्पताल सुधारका काम नगरेको बताउँछन् अस्पतालका कर्मचारीहरू ।

यो अस्पताल देशभरका अन्य अस्पतालमा भन्दा सस्तो र गुणस्तरीय छ । चिकित्सकहरूले ओपिडीमा आउने हरेक बिरामीलाई कम्तीमा पनि १५ मिनेटभन्दा बढी समय दिने गर्छन् । अस्पतालमा १२८ स्लाइसको आधुनिक सिटिस्क्यान मेसिन छ, जसको शुल्क जम्मा २ हजार छ ।

यसैगरी, एक्स–रे शुल्क पनि जम्मा १६० देखि ४५० रुपैयाँसम्म छ । यो शुल्क उपत्यकाका सबै अस्पतालमा भन्दा कम हो । सिटिस्क्यानको रिपोर्ट पनि अस्पतालले २४ घण्टाअघि नै दिन्छ । तर, कमजोर व्यवस्थापनका कारण अस्पताल पुग्ने बिरामी भने निकै कम छन् ।

अधिकांश शैंया खाली
यो मौसम संक्रामक रोग फैलने वेला हो । तर, सरुवा रोग उपचार हुने देशको एक मात्रै अस्पतालका अधिकांश शैंया भने खाली छन् । यो मौसममा संक्रामक रोग नै नदेखिएर अस्पतालका शैंया खाली भएका भने होइनन् । अस्पताललाई सर्वसाधारणले विश्वास नगरेका कारण खाली भएका हुन् ।

अस्पतालको कमजोर व्यवस्थापनका कारण बिरामीसमेत आउनै छाडेका छन् । एक सय शय्या रहेको अस्पतालमा बिरामी भर्ना (इन प्यासेन्ट) भने ज्यादै न्यून रहेको चिकित्सकहरू बताउँछन् । अस्पतालका अनुसार एक सय शय्यामध्ये जम्मा ११ जनामा मात्रै बिरामी छन् । ती पनि अधिकांश निजी अस्पतालबाट रिफर भएर आएका छन् । अस्पताल सेवा सञ्चालन निर्देशिकाअनुसार कुल शय्याको ६० प्रतिशत शैंयामा बिरामी नियमित भर्ना हुनुपर्छ ।

विश्वमा नयाँ नयाँ संक्रामक भाइरसहरू देखिने क्रम बढिरहेको छ । छिमेकी देश चीनमा कोरोना नामको भाइरसले आतंक मच्चाइरहेको छ । यस्ता भाइरस मानिसमा फैलिए उपचार गर्ने नेपालको एक मात्रै अस्पताल टेकु हो । तर, यहाँको कमजोर व्यवस्थापनले अस्पताल आफैँ थलिएको छ ।

चिकित्सकहरू बिरामी नआउनुलाई अस्पतालप्रतिको विश्वास गुम्दै गएको सहजै अनुमान लगाउन थालेका छन् । निर्देशक डा. वासुदेव पाण्डेका अनुसार बिरामी अस्पताल नआउनुको प्रमुख कारण अस्पतालको प्रचारप्रसार नहुनु हो । ‘टेकु अस्पतालप्रतिको सर्वसाधारणको अविश्वास हटाउनुछ । धनीहरू सुरुमा यस अस्पतालमा उपचार गराउन आउँदैनन् ।

अन्तिममा मात्रै यहाँ आउने हो,’ पाण्डेले भने, ‘व्यवस्थापन कमजोर भएर बिरामी नआएका जस्तो मलाई लाग्दैन ।’ यद्यपि, व्यवस्थापन सुधार पनि भइरहेको डा. पाण्डे बताउँछन् ।उनका अनुसार सिटिस्क्यान, एक्स–रे, ल्याब परीक्षणका लागि बिरामीहरू आइरहेका छन् ।

विशेषज्ञ चिकित्सक फुर्सदिला
देशभरका राम्रा सरुवारोग विशेषज्ञ चिकित्सकहरू टेकु अस्पतालमै छन् । उनीहरू हरेक बिहान १० नबज्दै अस्पताल पुग्छन्, बेलुका अबेरसम्म बस्छन् । तर, अपेक्षाअनुसार बिरामी नआएका कारण उनीहरू फुर्सदिला बनेका छन् । अस्पतालको आकस्मिक कक्षमा १० शय्या छन् । तर, यहाँका सबै शैंया अधिकांश समय खाली हुन्छन् ।

चार शैंयाको आइसियू भने प्याक छ । अन्य शय्या सधैँ खाली हुनुले बिरामी पहिला निजीमा जाने र त्यहाँ निको नहुने भएपछि रिफर हुने पुष्टि गरेको अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडा बताउँछन् । संक्रामक रोगको उपचार गर्ने केन्द्रीय अस्पताल यतिवेला कुकुरले टोकेका र एचआइभीका बिरामीको उपचारमा सीमित बनेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७