लाङटाङ राष्ट्रिय निकुञ्जमा बेपत्ता विद्यार्थी अझै भेटिएनन्


८ माघ २०७६, बुधबार
langtang

काठमाडौं, ८ माघ । लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि हराइरहेका दुई विद्यार्थी अझै फेला पर्न सकेका छैनन् । उनीहरुको खोजी कार्यलाई भने तीव्रता दिइएको छ ।

रसुवाको गोसाइँकुण्ड घुमेर हेलम्बु फर्कन लागेका बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी सिन्धुपाल्चोक हेलम्बु र नुवाकोटको बीच हिमक्षेत्र घ्याङफेदीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हेलम्बु गाउँपालिका १ का १७ वर्षीय वाङ्गेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगर ७ का जापान लामा शुक्रबारदेखि एकैसाथ हराएपछि हेलिकप्टरबाट खोजी कार्य थालिएको छ । हेलम्बु गाउँपालिकास्थित मेलम्चीघ्याङ माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण गौतमकाअनुसार माघ २९ मा उनीहरू हेलम्बु पुगेका थिए । बुधबार गोसाइँकुण्ड गएका दुवै घ्याङफेदीस्थित फेदी लजमा बास बसे ।

हेलम्बुबासी वाङ्गेलले भने शुक्रबार बिहान ७ बजेतिर बाक्लो हिमपात भइरहेको परिवारलाई फोनबाट जानकारी दिएका थिए । ‘परिवारबाट हिमपातमा नहिंड्न भन्दै लजमै बस्न भने पनि उनीहरू बिहान ९ बजेतिर हेलम्बु फर्किएको पाइयो, फेरि दुवैको खबर छैन,’ वाङ्गेलका शिक्षक गौतमले भने ।

उनीहरू घ्याङफेदीबाट दक्षिण पर्ने तालु गाउँतिर घुम्न हिंडेको खबर पाएको उनले जानकारी दिए । ‘त्यसपछि उनीहरू सम्पर्कविहीन छन्,’ उनले भने । शनिबार बेलुकीसम्म तालु गाउँ आसपास कोही कराइरहेको आवाज सुनिएको स्थानीयले बताएका छन् । उनीहरू फसेको अनुमान गरिएको स्थान एकदमै अप्ठ्यारो र बाक्लो हिउँ जमेकाले स्थानीय उद्धारमा निस्कन सकेका छैनन् ।

हेलम्बुको मेलम्चीघ्याङबाट ४ जना उद्धारकर्ता हिंडेर ठाडेपाटी पुगेको र हिउँ जमेर हिंड्न नसकेपछि आफूलाई गुहारेको हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । ‘तत्कालै हेलिकप्टर लिएर ठाडेपाटी पुगे, त्यहाँबाट घोप्टेफेदी पुर्‍याएर उद्धारकर्ता झारिएको छ, सम्पूर्ण तैयारीका साथ घोप्टेफेदीबाट उद्धारको लागि खट्दै छन्,’ उनले भने ।

गएको शुक्रबारदेखि २ विद्यार्थी बेपत्ता भएको अनुमानित स्थानमा ३ दिनसम्म हेलिकप्टरबाट खोजी प्रयास भए पनि केही प्राप्त हुन नसकेको जिप्रका नुवाकोटका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए । ‘स्थलगत रूपमा नुवाकोट १०, सिन्धुपाल्चोकबाट ४ र होटलका २ जना गरी १६ जनाले बेपत्ता भएको स्थानमा खोजी जारी राखेका छन्,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७