नेविसंघभित्र रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजी


८ माघ २०७६, बुधबार
nebisangh sanepa1 Z7VdDBm7ep

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजीमा छ ।

नेविसंघको ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान केन्द्रीय कार्यसमितिबाट पास भए पनि विधान कार्यान्वयन नहुँदा नेविसंघभित्र यसको कार्यान्वयनको खोजी गरिएको हो ।

विधानमा नेविसंघको अध्यक्ष बन्न ३२ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । विसं २०७५ माघमा तत्कालीन अध्यक्ष महरले राजीनामा दिएपछि बन्न लागेको तदर्थ समिति विधानअनुसार बन्ने कि नबन्ने भन्ने अन्योल छ । नेविसंघभित्रका केही नेताहरु भने विधान कार्यान्वयनको माग गर्दै ३६ दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बसेका छन् ।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले विधान कार्यान्वयमा पार्टी गम्भीर बन्नुपर्ने बताउँछन् । ‘नेविसंघको बैठकबाट पास गरेर पार्टीलाई पेश गरेको विधान पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पास गरेको अवस्थामा विधान लागू गर्दिन भन्नु पार्टी नेतृत्वको कमजोरी हो’, उनी भन्छन् ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तोकिसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघ भने विधान कार्यान्वयन र नेतृत्वको खोजीमै अल्मलिएको छ । नेपाली कांग्रेसको नर्सरीका रूपमा रहेको नेविसंघमा अहिले अध्यक्ष नहुँदा १२ औं महाधिवेशनसमेत अन्योलमा परेको छ ।

नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्ण कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी आफैंले विधान पास गर्ने र आफैँ विधानविपरीत जान नमिल्ने बताउँछन् । ‘३२ वर्ष हटाउने वा ३२ वर्षभित्रका विद्यार्थीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने मामिला पार्टी र विद्यार्थी संघभित्रको हो, तर पास भएको विधानलाई कसैले कुल्चन मिल्दैन’, उनी भन्छन् ।

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्रमोर्चामा उभिएर काम गरेको नेविसंघको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ । विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको नेविसंघमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरे । नेविसंघको पहिलो अध्यक्ष विपिन कोइराला रहेका छन् ।

नेविसंघको ४८ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसंघका अध्यक्ष विश्वप्रकाश शर्माले महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरू अध्यक्षले आफ्नो समयमा अधिवेशन गर्न सकेनन् ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका छन् । यस्तै, विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् ।

नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले विधानअनुसार २२ जिल्लाको जिल्ला अधिवेशन र ६ लाख विद्यार्थीलाई सदस्यता वितरण गरिसकेको बताए । ‘आफ्नो लागि भयो भने विधान ठीक र अर्काका लागि भयो भने विधान बेठीक भन्ने प्रवृत्तिका कारण नेविसङ्घमा यस्तो अवस्था आएको हो’, उनी भन्छन् । निवर्तमान अध्यक्ष महरले आफ्नै पालामा निर्वाचन गर्न सम्भव भए पनि पार्टीका नेता आफू अनुकूलका व्यक्तिलाई अगाडि सार्दा निर्वाचन हुन नसकेको बताउँछन् ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसंघभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउँछन् । ‘विधान र प्रक्रियाअनुसार नै नेविसंघको तदर्थ समिति बन्छ’, उनी भन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७