चाकुखोला आयोजनाबाट पुनः उत्पादन शुरु


८ माघ २०७६, बुधबार
hydro power

चौतारा, ८ माघ । बाढीपहिराबाट क्षतिग्रस्त भई बन्द रहेको ६.५ मेगावाट क्षमताको सिन्धुपाल्चोकको चाकुखोला साना जलविद्युत् आयोजनामा मङ्गलबारदेखि पुनः उत्पादन शुरु भएको छ ।

हेडवक्र्स तयार हुन करिब चार महिना समय लाग्ने भएकाले अस्थायीरूपमा पानी ‘डाइभर्ट’ गरी उत्पादित विद्युतलाई लामोसाधु सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिएको आयोजनाका मेनेजर शोभाकान्त हमालले बताए ।

निजी क्षेत्रको लाफिङ बुद्ध प्रालिद्वारा भोटेकोशी गाउँपालिका वडा नं ४ र ५ को बीचमा पर्ने चाकुखोलामा निर्मित तीन आयोजना गत असार २१ गते राति आएको बाढी र पहिराले क्षतिग्रस्त भई बन्द भएका थिए ।

त्यति बेलासँगै रहेको शिवश्री हाइड्रोपावरको निर्माणाधीन आयोजनालाई समेत क्षति पुगेको र दुई कामदारलाई बगाउनुका साथै दुई घाइते भएका थिए । एक जना कामदार अझै बेपत्ताकै अवस्थामा छन् ।

बाढी र पहिराले हेडवक्र्स, इन्टेक, ट्रान्समिशन, विद्युत् गृह, कर्मचारी आवास गृह, टेलरेश र स्वीचयार्ड समेतमा क्षति पुगेको थियो । उक्त आयोजनालाई २०७२ को विनाशकारी भूकम्प र २०७४ असार ३१ गतेको बाढी तथा पहिराले समेत क्षति पुर्‍याइ लामो समयसम्म उत्पादन बन्द भएको थियो ।

आयोजनाका मेनेजर हमालका अनुसार क्षतिग्रस्त आयोजना पुनर्निर्माण गर्न रु २० करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ । उक्त कम्पनीले त्यहाँ १.८ मेगावाटको मिडडल चाकु, बिचको चाकुखोला तीन मेगावाट र तल्लो चाकु १.७५२ मेगावाटसहित तीन आयोजनाबाट कूल ६.५ मेगावाट विद्युत् उत्पादन हुँदै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७