उखु किसानको भुक्तानी नदिने उद्योगीको बैंक खाता रोक्का


८ माघ २०७६, बुधबार
ukhu kisan scaled

काठमाडौं, ८ माघ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको बैंक खाता रोक्का गर्ने भएको छ ।

मन्त्रालयले गत पुस १८ गते उखु किसानहरुसँग गरेको सम्झौताअनुसार उद्योगहरुबाट रकम भुक्तानी गराउने पहल भइरहेको र केही उद्योगहरु अझै सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्न लागिएको जानकारी दिएको हो ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेश भट्टराईले अन्नपूर्ण सुगर एण्ड जनरल ई प्रालि, इन्दिरा सुगर एण्ड एग्रो ई प्रालि, बाबा बैजुनाथ चिनी उद्योग, लुम्बिनी चिनी उद्योग, श्रीराम सुगर मिल्सलगायतका उद्योगको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजस्व विभागमा पत्राचार गर्ने तयारी गरिएको जानकारी दिए । सम्पर्कमा नरहेका उद्योगहरुको बैंक खाता समेत रोक्का हुने उनले बताए ।


प्रवक्ता भट्टराईले ती उद्योगहरुलाई सम्पर्कमा ल्याइदिन मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई पत्राचार गरेको समेत बताए । उनका अनुसार बाबा बैजुनाथ चिनी उद्योग, बाग्मती खाँडसारी चिनी मिल्स, महाकाली सुगर, लुम्बिनी चिनी उद्योगका सञ्चालकहरु सम्पर्कमा छैनन् ।

अन्नपूर्ण सुगर र इन्दिरा सुगरका सञ्चालक राकेशकुमार अग्रवाल सम्पर्कमा रहे पनि किसानलाई ४२ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा जम्मा ४ करोड ६४ लाख रुपैयाँ मात्र भुक्तानी गरेकाले आर्थिक कारोबार रोक्का गरी अनुसन्धान गर्न लागिएको जानकारी प्रवक्ता भट्टराईले दिए । अन्नपूर्णले विद्युत प्राधिकरणको समेत काम गरिरहेकाले प्राधिकरणलाई मन्त्रालयमा जानकारी गराएर मात्र भुक्तानी गर्न पत्राचार गरेको उनले बताए ।

त्यस्तै, श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भए पनि किसानसँग जग्गा विक्री गरेर भुक्तानी गर्ने सम्झौता गरेकाले अनुसन्धान गर्न लागिएको छ । लुम्बिनी चिनी उद्योगका सञ्चालक मनिष अग्रावलको मृत्यु भएकाले उक्त उद्योग कसले सञ्चालन गर्छ भन्ने जानकारी हुन नआएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत पुस १८ गते उखु किसानसँग चिनी मिल सञ्चालकहरुबाट माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति गरेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७