आज सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन

कुन प्रदेशको मतदानस्थल कहाँ ?


९ माघ २०७६, बिहीबार
election 1


काठमाडौं, ९ माघ । राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै बिहीबार बिहान १०–४ बजेसम्म मतदान हुने जानकारी दिएको छ । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् । आयोगका अनुसार, कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ । आयोगका अनुसार, निर्वाचनको केही घण्टामै मत परिणाम सार्वजनिक हुनेछ ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश: मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।

उक्त निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेद्वार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका

अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ । सम्पूर्ण मतदातालाई परिचयपत्र लिई मतदानमा सरिक हुन अनुरोध गरिएको छ ।
को–कसको पूरा हुँदैछ कार्यकाल
राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य छन् ।

उनीहरुमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७