सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन जारी


९ माघ २०७६, बिहीबार
sherdhan


काठमाडौं, ९ माघ । रिक्त हुन लागेका राष्ट्रियसभाका १८ सिटका लागि अहिले देशका सात वटै प्रदेशमा मतदान कार्य जारी रहेको छ ।

मतदानस्थल तोकिएका सातै प्रदेशमा शान्तिपूर्ण रूपमा अहिले मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता सह–सचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । ५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेद्वार छन् ।

निर्वाचन आयोगले प्रदेश–१ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहलाई मतदानस्थल तोकेको छ । त्यहाँ निर्धारित १० बजेदेखि शुरु भएको मतदान अहिले शान्तिपूर्ण रूपमा भइरहेको छ ।

प्रदेश–२ को जनकपुर उपमहानगरपालिकास्थित महेन्द्र नारायण स्मृति भवनलाई मतदानस्थल तोकिएको छ । यहाँ पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवनलाई वागमती प्रदेशको मतदानस्थल बनाइएको छ । यहाँ पनि बिहान १० बजेदेखि नै मतदान भइरहेको छ ।

गण्डकी प्रदेशको मतदानस्थल तोकिएको पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ को घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिमका लागि दिपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविमा पनि राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ । बिहान १० बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुने र एक जना भने राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७