राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत मत खस्यो, आजै मत परिणाम

६ राजनीतिक दलका ४५ उम्मेद्वार प्रतिस्पर्धामा


९ माघ २०७६, बिहीबार
voting

काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ ।

दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिए । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेको देखियो ।
मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मत गणना कार्य प्रारम्भ हुनेछ ।

आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ । यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्यालले वाग्मती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गरे । उक्त मतदान केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ २३८ मतदाता कायम छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७