कार्यक्रमका लागि अमेरिकी गएकी उपमेयर दर्शना उतै ‘लुकिन्’

उपमेयर नहुँदा अधिकांश योजनाको रकम भुक्तानीमा समस्या


९ माघ २०७६, बिहीबार
Danta Nepali

सुर्खेत, ९ माघ । एक कार्यक्रममा सहभागी हुन अमेरिका गएकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर उतै हराएकी छन् ।

एक गोष्ठीमा सहभागी हुन नगरपालिका संघमार्फत् कातिक महिनामा अमेरिका गएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता (दर्शना) नेपाली त्यहाँ गइसकेपछि सम्पर्क बाहिर रहेको तिलागुफाका मेयर रत्नबहादुर शाहीले जानकारी दिएका छन् ।

उपमेयरले अमेरिकाको गोष्ठीमा सहभागी हुन आफ्नो नाम परेको भनेपछि नगरबाट स्वीकृति दिइएको तर, गएपछि कुनै जानकारी नगराएको मेयर शाही बताउँछन् । उपमेयर नेपाली गत कात्तिक महिनामा कार्यक्रममा भाग लिन अमेरिका गएकी हुन् । उपमेयर अमेरिका पुगेपछि एक पटक मात्र टेलिफोन सम्पर्क भएको मेयर शाहीले जानकारी दिए ।

उक्त टेलिफोन सम्पर्कमा उपमेयर नेपालीले ‘आफू बिराम भएकाले फर्किन नसकेको’ बताएको शाहीले बताए । उपमेयर नहुँदा अधिकांश योजनाका भुक्तानी दिन समस्या भएको मेयर शाहीले बताएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरको उम्मेद्वार बनेकी नेपाली एक हजार ८४३ मत ल्याएर निर्वाचित भएकी हुन् । बिना सम्पर्क चार महिनासम्म अमेरिका रहेका कारण उनी जानाजान लुकेर बसेको हुनसक्ने समेत आशंका बढेको छ । यसअघि पनि विभिन्न कार्यक्रमको शिलशिलामा अमेरिका गएका केहि व्यक्तिहरु उतै ‘लुकेर’ बस्ने गरेको घटनाहरु बेलाबखत सार्वजनिक हुँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७